सरकार बाढी पहिरो पीडितका साथ छ, अल्पकालीन र दीर्घकालीन ब्यवस्थापन हुन्छ : प्रधानमन्त्री देउवा



पाँचथर, ७ कात्तिक

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बाढी पहिरोबाट प्रभावित परिवारका साथमा रहेको भन्दै चिन्ता नलिन आग्रह गर्नुभएको छ ।

पाँचथर र इलाम जिल्लाका बाढी तथा पहिरो प्रभावितलाई भेटेपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ चिक्फुलामा पीडित परिवारलाई भेट गर्दै प्रधानमन्त्री देउवाले सरकार पीडितका साथमा रहेको वताउनुभएको हो । बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत दिन तथा अल्पकालीन र दीर्घकालीन पुनस्र्थापना गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाले वताउनुभयो । “अहिले हामीलाई विपतले पारेको दुःखको समाधान गर्नुपर्ने आवश्यता छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “त्यसकै लागि हामी यहाँसम्म आएका हौँ । राहतका थप कार्यक्रम सरकारले अगाडि बढाउनेछ ।”

बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत दिने यसअघि नै सरकारले घोषणा गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले सरकारले थप सहयोग गर्ने समेत आश्वासन दिनुभयो । सरकारले घरबारविहीन बनेका पीडितको घर बनाउने घोषणा गरिसकेको वताउँदै प्रधानमन्त्री देउवाले बाढी पहिरो लगायत प्राकृतिक प्रकोपबाट देशैभरी प्रभावित नागरिकको सहयोगका लागि सरकारले सबै निकायलाई परिचालन गर्ने वताउनुभयो । बाढी पहिरोबाट विस्थापित परिवारको अस्थायी बसोबासको ब्यवस्था गर्न उहाँले स्थानीय तहहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले बाढी पहिरो प्रभावितको उद्धार तथा राहतका खटिने सबै पक्षलाई धन्यवाद दिनुभयो ।

बाढी पहिरो प्रभावितलाई सम्बोधन गर्नुअघि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले बाढी पहिरो लगायत प्राकृतिक विपत्तिबाट प्रभावितको अल्पकालीन र दीर्घकालीन ब्यवस्थापनका लागि सरकारले योजना बनाउने वताउनुभयो । बाढी पहिरोबाट क्षतिग्रस्त मेची राजमार्ग लगायत संरचनाको ब्यवस्थित पुनर्निर्माणमा समेत सरकारले ध्यान दिने उहाँको भनाई छ । छरिएर बस्ने ग्रामीण बसोबासको परम्पराका कारण एकीकृत र सुरक्षित प्रकारका बस्ती निर्माण कठिन भएको वताउँदै प्रधानमन्त्री देउवाले बाढी पहिरोबाट वर्षेनि हुने क्षति रोक्न विज्ञको सुझावका आधारमा सरकार अगाडि बढ्ने वताउनुभयो ।

यस वर्ष बाढी र पहिरोले गरेको क्षतिलाई भयानक क्षति भन्दै प्रधानमन्त्री देउवाले वि.सं. २०७२ सालको भूकम्पपछिको ठूलो क्षति बाढी पहिरोले गरेको वताउनुभयो । “यो विपत्तिको समयमा पीडित परिवारलाई सहयोग गर्न म सबै नेपालीहरुमा आव्हान गर्न चाहन्छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो । प्रधानमन्त्री देउवाले बाढी र पहिरोमा परी २१ जनाको ज्यान गएको पाँचथरको मिक्लाजुङ गाउँपालिकाका स्थानीयवासीलाई मिक्लाजुङ–५ चिसापानी पञ्चमीमा भेटघाट गर्नुका साथै पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण समेत गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाका साथ उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, काँग्रेस अनुशासन आयोगका प्रमुख भीष्मराज आङदेम्बे लगायत समेत सहभागी हुनुहुन्थ्यो । बाढी तथा पहिरोका कारण पाँचथर जिल्लामा ३० जना तथा इलाम जिल्लामा १४ जनाको मृत्यु भएको छ भने दुई जिल्लामा गरी सात जना वेपत्ता छन् । बाढी तथा पहिरोका कारण सयौँ परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्