बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो



फिदिम, ६ कात्तिक

पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढी र पहिरोमा परी वेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको संख्या ३० पुगेको हो । कात्तिक १ गतेदेखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिरोको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो संख्यामा स्थानीयवासीको ज्यान गएको हो ।

बाढीले बगाएर वेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिरोले पुरिएर वेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढी र पहिरोमा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । जसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् ।

पाँचथरमा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी र पहिरोमा परी वेपत्ता छन् । वेपत्ता हुनेमा दुई जना स्वास्थ्यकर्मी समेत छन् । इलामको माङसेबुङ गाउँपालिकामा कार्यररत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । तर पहिरो झरेपछि भाग्ने क्रममा पहिरोले पुर्दा वेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो ।

बाढी र पहिरोमा परी वेपत्ताको खोजी कार्य तीब्र पार्न तथा क्षतिको विवरण संकलन गर्न जिल्ला विपत ब्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहहरुलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायहरुले स्थानीयवासी समेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहहरुबाट क्षतिको विवरण संकलन थालिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्