चार जना घाइतेको हेलिकप्टरमार्फत उद्धार



पाँचथर, ४ कात्तिक

बाढी र पहिरोबाट घाइते बनेका यहाँका चार जना घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. २ र ५ का उनीहरुलाई हिँजो र आज नेपाली सेनाको हेलिकप्टर उद्धार गरेको हो । उद्धार गरिएका घाइतेहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको ब्यवस्था गरिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो । मंगलबार राती पहिरोमा परी घाइते भएकी जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ की अन्दाजी ४० वर्षीया दिलकुमारी राईलाई हिँजो हेलिकप्टरमार्फत उद्धार गरी धरान पु¥याइएको थियो ।

पहिरोमा परी घाइते भएका सोही वडाका २८ वर्षीय विशाल लावतीलाई आज विहान उद्धार गरिएको छ । यस्तै आजै मिक्लाजुङ–२ की २३ वर्षीया आशा शेर्मा र मिक्लाजुङ–५ का अन्दाजी ५५ वर्षीय दिनेश लावतीलाई नेपाली सेनाको १ नम्बर पृतनाको हेलिकप्टरले उद्धार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको गाउँपालिका अध्यक्ष माखिमले जानकारी दिनुभयो । उद्धार गरिएका शेर्मा र लावतीको अवस्था गम्भीर रहेको मिक्लाजुङ–२ का ढकेन्द्र भट्टराईले वताउनुभयो ।

तीन दिनसम्म अविरल परेको वर्षाका कारण मिक्लाजुङ गाउँपालिकामा मात्रै हालसम्म २१ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता छन् । सडक मार्गबाट उपचारका लागि लैजाने अवस्था नभएपछि स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार कार्य जारी रहेको अध्यक्ष माखिमले वताउनुभयो । प्रजिअ पुण्यप्रसाद ढकालका अनुसार बाढी र पहिरोका कारण गम्भीर घाइतेहरुलाई गृह मन्त्रालयको समन्वयमा उद्धार गरी उपचारको प्रवन्ध गर्ने कार्य निरन्तर चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्