नेपाली फुटबलः मैदानभित्र र बाहिर दुवैतिर प्रशिक्षक अल–मुताइरीको चर्चा किन ?



फिदिम । भन्ने नै हो भने प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीको विश्लेषण गर्ने बेला भएकै छैन। नेपालले बाङ्ग्लादेशसँग साफ च्याम्पियनशिपको निर्णायक मानिएको खेल बुधवार खेल्दैछ।

त्यसमा सफलता हात पारेमा साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो फाइनल खेल्ने इतिहास रचिनेछ। त्यस्तै फाइनलको नतिजा जे पनि हुन सक्छ। त्यसैले यो भनेको नेपाली फुटबल प्रशंसकहरूका निम्ति नेपालको हौसला बढाउने अनि अल–मुताइरीको होस्टेमा हैँसे गर्ने बेला नै हो, उनको अनावश्यक प्रशंसा वा आलोचनाको होइन।

तर यहाँ उल्लेख गरिन लागेको विषय के हो भने साफ च्याम्पियनशिपको पारो अन्तिम बिन्दुमा चढिरहेको बेला अल–मुताइरी प्रतियोगिताको चर्चाको केन्द्रबिन्दुमा भने पुगिरहेका छन्। दक्षिण एशियाको टापु देश माल्दिभ्समा यी कुवेती नागरिकको खुबै चर्चा चुलिएको छ। नतिजाको हिसाबले मैदान अनि व्यवहारको हिसाबले मैदान बाहिर पनि।

भारतीय प्रशिक्षकले गोलको खुशी मनाउँदा उनको नै नक्कल गरेको देखियो। पत्रकार सम्मेलनमा कुनै प्रशिक्षकले विवादास्पद वा रसिला छन् भने ती नेपालका प्रशिक्षक अल–मुताइरी नै हुन्। ठ्याक्कै भन्दा उनले जारी प्रतियोगितामा माइन्ड गेम खेलिरहेका छन् ।

लगातार दुई खेल जितेर तालिकाको शीर्ष स्थानमा नेपालले डेरा जमाएपछि अल–मुताइरीको चर्चा त हुनैपर्थ्यो। साफ च्याम्पियनसिप उनको क्षमताको वास्तविक परीक्षा हुने पनि भनिएको थियो। परीक्षामा एक हदसम्म उनले सफलता पाइसकेको मान्नैपर्छ।

साबिक विजेता माल्दिभ्सलाई उसकै घरेलु मैदानमा प्रतियोगिताको उद्घाटन दिनकै खेलमा सारा दर्शकहरूमाझ पराजित गरेर उनले दमदार शुरूआत गरेकै हो। माल्दिभ्सको आक्रमणलाई निस्तेज पार्ने अनि पाएको अवसरमा धारिलो काउन्टर एट्याक वा प्रत्याक्रमण गर्ने उनको रणनीतिले परिणाम दियो।

त्यसमाथि स्ट्राइकर मनिष डाँगीले गरेको गोललाई कतिपयले लियोनल मेसीको झल्को दिने शैलीको गोल भनेपछि डार्क हर्स नेपाली टोली माल्दिभ्समा मज्जाले चम्कियो। श्रीलङ्का विरुद्धको दोस्रो खेलमा पाएको ३–२ को जितमा पनि नेपाली टोली प्रभावशाली देखियो। भारतसँगको खेलमा भने टोली सफल हुन सकेन। त्यसको खुबै आलोचना भइरहेको छ।

अल–मुताइरीको विशेषता के देखियो भने उनले खेलाडीहरूलाई खुलेर खेल्ने स्वतन्त्रता दिन्छन्। सो अनुरूप खेलाडीहरूविना फिक्री खेलेको देखियो, र त्यसले परिणाम पनि दिइरहेको देखियो। खेलाडीहरूमा सामूहिक भावना पनि देखिएको छ।

इराकसँगको मैत्रीपूर्ण फुटबलदेखि साफ च्याम्पियनशिपसम्म आइपुग्दा उनको नेतृत्वले खेलाडीहरूको आत्मविश्वास अझ थपिए जस्तो देखिएको छ। उनको कार्यकालमा विश्वकप छनोट, मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपमा भएका गोलहरूले त्यसलाई प्रमाणित गर्छ।

फेरि उनलाई चुनौती सामना गर्न पनि कुनै डर लाग्दैन। उनलाई एउटा अर्को विशेष फाइदा पनि छ। कोरोनाभाइरस महामारीपछि फिफाले ५ खेलाडीसम्म वैकल्पिकका रूपमा खेलाउन पाउने नियमको उनले भरपुर फाइदा उठाएका छन्।

उनको काउन्टर ट्याक शैली पनि बलियो छ। मैदान बाहिरका त उनी माहिर खेलाडी हुन्। विपक्षीलाई मनोवैज्ञानिक झड्का दिने गरी उनले आफू माइन्ड गेम खेल्न कति तगडा छन् भन्ने देखाइरहेका छन्।

नेपाललाई हेप्न खोजेको भन्दै अल–मुताइरीले पत्रकार सम्मेलन बहिष्कार गर्ने भनी सामाजिक सञ्जालमा नै लेखे। पछि उनले मेटाए। श्रीलङ्कासँग र भारतसँग पनि त्यही रणनीतिको जालो हाले। जसमा श्रीलङ्का फसेजस्तो देखिए पनि भारतलाई भने फरक परेन। भारतसँग पराजित भएपछि उनले भारतीय प्रशिक्षकसँग वाक्‌युद्ध नै गरे। खेल दौरान यस्तो रणनीतिहरू अपनाइन्छ।

फुटबल समर्थकहरू उनको माइन्ड गेम रणनीति आवश्यकताभन्दा बढी भयो कि भन्ने आलोचना गर्न थालेका छन्। जे होस्, त्यो उनको रणनीतिको एउटा पाटो भयो। अब बुधवार बाङ्ग्लादेशसँग हुने खेलमा अल–मुताइरीले कस्तो खाले रणनीति अपनाउलान्, त्यसले उनको क्षमता प्रस्ट्याउने नै छ।

खाँचो

एउटा आलोचना छ अल–मुताइरी हल्ला बढी गर्छन्। व्यावसायिक प्रशिक्षकको जिम्मा लिएका उनका कतिपय कार्यहरू भने अव्यावसायिक देखिएका छन्। मैदानभित्र केन्द्रित हुनुपर्ने भूमिकाबाट निस्केर उनी एन्फा प्रशासनको राजनीतिमा समेत मुछिए। राजीनामा दिने प्रकरण र पत्रकारहरूसँग झगडा गर्ने स्थितिसम्म आउनुमा कतिपयले उनको अव्यावसायिक पाटो भनेका छन्।

सामाजिक सञ्जालमा समर्थकहरूसँग भिजेर उनी रमाउन खोज्छन्, तर खेलाडीहरूलाई भने मिडियासँग बोल्ने छुट उनले दिएका छैनन्। कतिपयले उनी हुलमा रमाउन खोज्ने पात्र पनि भन्छन्। त्यसैले धेरैले उनलाई विशुद्ध व्यावसायिक प्रशिक्षकको भूमिकामा मात्र आफूलाई सिमित राख्न सल्लाह पनि दिइरहेका छन्। बाँकी त खेल परिणामहरूले नै उनको भूमिका प्रमाणित गर्नेछ। (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्