इम्बुङ र मुलडाँडामा एकैदिन ८६ जना एमालेमा प्रवेश



फिदिम, २५ असोज ।

पाँचथरमा एकैदिन ८६ जना विभिन्न दलका कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा ५३ जना र फिदिम नगरपालिका–१४ मुलडाँडामा ३३ जना गरी ८६ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । फाल्गुनन्द–२ इम्बुङमा एमाले फाल्गुनन्द गाउँपालिका २ र ३ वडा कमिटीले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदान–प्रदानमार्फत काँग्रेसका पूर्व वडा कार्यसमिति उपसभापति टेकराज फुयाल, पूर्व सहसचिव हेमप्रकाश नेम्वाङ, क्रियाशील सदस्य देउमान नेम्वाङ लगायत, नेकपा (माओवादी केन्द्र) सम्वद्ध बाइसीएल फाल्गुनन्दका अध्यक्ष सन्तोष नेम्वाङ, राप्रपाका स्थानीय नेता नयन्द्र सुन्दर नेम्वाङ सहित ५३ जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिवालय सदस्य एवं सो वडाका वडाध्यक्ष बहादुरसिंह नेम्वाङले जानकारी दिनुभयो ।

नवप्रवेशीहरुलाई प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, संविधानसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, एमाले पाँचथरमा अध्यक्ष राजकुमार भण्डारी, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष एवं एमाले फाल्गुनन्दका इन्चार्ज वीरबहादुर कुरुम्बाङ लगायतले अविर र खादा सहित स्वागत गर्नुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एवं फाल्गुनन्द गाउँपालिका सहइन्चार्ज मुक्ति आचार्य, जिल्ला सचिवालय सदस्य एवं फाल्गुनन्द गाउँपालिका कमिटी अध्यक्ष देउप्रकाश आङ्देम्बे, जिल्ला सदस्य एवं फाल्गुनन्द–४ का वडाध्यक्ष मनबहादुर चेम्जोङ, जिल्ला सदस्य लोकेन्द्र फुयाल लगायतको समेत उपस्थिति थियो । इम्बुङमा शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेशको औपचारिक कार्यक्रम सकिएपछि पनि अनौपचारिक कार्यक्रममार्फत विभिन्न दलका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

यस्तै फिदिम नगरपालिका–१४ मुलडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अर्जुन राई, मनबहादुर राई, प्रतिजङ्ग राई, मदन राई, देउकुमार राई सहित ३३ जना काँग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले फिदिम नगर कमिटीका सचिव जलकुमार तामाङले जानकारी दिनुभयो । एमाले फिदिम १४ वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममार्फत उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी सहितका नेताहरुले अविर र खादा सहित एमालेमा स्वागत गरेका छन् । कार्यक्रममा एमाले फिदिम नगर कमिटी अध्यक्ष पृथ्वी लावती, नगर कमिटी सचिव जलकुमार तामाङ, जिल्ला सचिवालय सदस्य तुलसी थापा, जिल्ला सदस्य एवं फिदिम–१४ का वडाध्यक्ष हेमबहादुर फागो, जिल्ला सदस्य एवं नगर कमिटी उपसचिव दीपेन्द्र तुम्वापो, जिल्ला सदस्यद्वय विवेक राई (गजेन्द्र), ललित राई लगायत नेताहरुको समेत उपस्थिति रहेको तामाङले जानकारी दिनुभयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएको तथा नेता माधवकुमार नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि संगठन सुदृढिकरणमा लागेको एमालेमा विभिन्न दलका कार्यकर्ता प्रवेशको लहर निरन्तर चलिरहेको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले जनताले एमाले नेतृत्वको अघिल्लो सरकारले चलाएको विकास र समृद्धिको लहर तथा षड्यन्त्रपूर्वक उक्त सरकार विस्थापन गरिएको विषय जनताले क्रमशः बुझ्दै गएको वताउनुभयो । “आम जनताको साथ र यो प्रवेशको लहरले एमालेले मात्रै देशका समस्या हल गर्न सक्छ र सुख सुविधा दिन सक्छ भन्ने स्पष्ट भएको छ”, नेम्वाङले भन्नुभयो, “समृद्ध मुलुक र बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि एमालेको विकल्प छैन् भन्ने कुरा पुनर्पुष्टि भएको छ ।”

मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको कोटा छुट्टयाउने कार्यले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने तथा एमाले विभाजनको आधार तयार गर्ने सर्वोच्च अदालतको फैसला गैरन्यायीक, गैरसंवैधानिक तथा नियजित भएको पुष्टि भएको नेम्वाङको भनाई छ । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्र सुन्दर नेम्वाङ, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लगायत नेताहरुले समेत सम्बोधन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष एवं एमाले फाल्गुनन्दका इन्चार्ज वीरबहादुर कुरुम्बाङले एमालेको नेतृत्वमा बनेका सबै तहका सरकारहरुले महत्वपूर्ण कामहरु गर्न सफल वताउनुभयो । आफू गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि गाउँपालिकाको संस्थागत विकास, सेवा प्रवाह तथा नागरिकका आवश्यकता पूर्तिका लागि आँखाले देख्न सकिने तथा परिणाममा भेटिने कामहरु भएको वताउँदै अध्यक्ष कुरुम्बाङले आफूले उपनिर्वाचनमा ब्यक्त गरेको प्रतिवद्धता क्रमशः पूरा गर्दै लगेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्