बाँस्कोटाको कविता सङ्ग्रह ‘ढुङ्गाको प्रेम’ लोकार्पण



फिदिम, २४ असोज

कवि एवं पत्रकार गिरिराज बाँस्कोटाको कविता सङ्ग्रह ‘ढुङ्गाको प्रेम’ लोकार्पण गरिएको छ ।

केञ्जो खवर डटकमले आज फिदिममा आयोजना गरेको कृति विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा इलामका साहित्यकार विमल वैद्यले उक्त कृति लोकार्पण गर्नुभयो । शिखा बुक्सले प्रकाशन गरेको ७२ पृष्टको उक्त कविता सङ्ग्रहमा बाँस्कोटाका २७ वटा कविता सङ्ग्रहित छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत रहनुभएका झण्डै डेढ दशकदेखि सक्रिय पत्रकार बाँस्कोटाको यो पहिलो कृति हो ।

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुङ्गानाले कृति सानो भएपनि निकै महत्वपूर्ण र गहन भएको वताउनुभयो । सबै कविताहरु मुक्त छन्दमा रचना गरिएका छन् । कविताका धेरै तत्वहरु समावेश भएको कविता सङ्ग्रहले समाजको रुपान्तरणका लागि राम्रो सन्देश दिएको ढुङ्गानाले वताउनुभयो । आफूले गरेका अनुभूतिहरुलाई सबै कवितामा कुनै न कुनै रुपमा आकर्षक रुपमा प्रस्तुत गर्न सक्नु कविको दख्खलता देखिएको ढुङ्गानाले टिप्पणी गर्नुभयो ।

बाँस्कोटाले कवितामा फोटो पत्रकारितामार्फत प्रकृतिको वर्णन र फोटोग्राफीको प्रस्तुतिका अनुभूति, प्रकृति र जीवनका सम्बन्ध, वर्गीय दृष्टिकोणको पक्षधरता, सामाजिक न्याय, प्रेमील अनुभूति, आशावादिता तथा घायल प्रेमका सवाल एवं आर्तनादहरु आकर्षक रुपमा ब्यक्त गरेको, रिपोर्ताजहरु, उच्च कल्पनाशिलता कवितामा देखिएको, शब्द तथा शैलीगत विशिष्टता उक्त कविता सङ्ग्रहमा रहेको उहाँले टिप्पणी राख्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार विमल वैद्यले पत्रकारका रुपमा जनता र भूगोलसँग हुने साक्षात्कार तथा अनुभूतिलाई बाँस्कोटाले आकर्षक रुपमा कविताको स्वरुप दिएको वताउनुभयो । मानव जीवनका सबै रङ्गहरुलाई कविता सङ्ग्रहमार्फत प्रस्तुत गर्नु र पत्रकारिता गर्दागर्दै कविका रुपमा पहिचान बनाउनु कविको दख्खलता रहेको उहाँले वताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल सहित साहित्यकारहरु नरेन्द्रकुमार केरुङ, प्रेम ओझा, राजेन्द्रकुमार जवेगू, शान्ता गौतम, मधुराज केरुङ, सन्देश सुब्बा लगायतले समेत शुभकामना मन्तब्य ब्यक्त गर्दै रचना वाचन गर्नुभयो ।

यस क्रममा प्रजिअ ढकालले पाँचथरमा साहित्यिक क्षेत्रमा देखिएको सक्रियताले बहुआयामिक ब्यक्तित्वहरु निर्माण गरेको आफूले पाएको वताउनुभयो । यस्तै फिदिम नगरपालिका–१ का वडाध्यक्ष गजाधर भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ कार्यसमितिका उपाध्यक्ष लवदेव ढुङ्गानाले पत्रकार बाँस्कोटालाई साहित्यिक जीवन सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्