सम्बाहकले नै गणतन्त्रको चीर हरण गरे, संविधान भित्रैबाट ब्यवस्था बदल्छौँ : कमल थापा



फिदिम, २१ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्रका सम्बाहकहरुले नै गणतन्त्रको चीर हरण गरेको वताउनुभएको छ । लोकतान्त्रिक मूल्य र मान्यताबाट बाहिर गएर राज्य ब्यवस्था सञ्चालन गर्नुले गणतन्त्रात्मक पद्धतिको उपहास भएको थापाको भनाई छ ।

पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राज्य सञ्चालनमा न्यूनतम लोकतान्त्रिक मान्यता समेत अवलम्बन नहुनुले वर्तमान ब्यवस्थाको औचित्यमा प्रश्न उठेको वताउनुभयो । एउटा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत लिन एक प्रकारको अध्यादेश जारी गर्नु र विश्वासको मत पाएपछि त्यसलाई फिर्ता लिनु, विश्व इतिहासमै नभएको अदालतको परमादेशले प्रधानमन्त्री तोकिनु, प्रधानमन्त्रीलाई मत दिन सांसद्हरुलाई ह्वीप नलाग्नु, राजनीतिक दलहरुले निकास दिनुपर्ने राजनीतिक विषयलाई अदालतबाट निकास दिन लगाइनुले लोकतान्त्रिक गणतन्त्रको उपहास भएको अध्यक्ष थापाको प्रष्टोक्ति छ ।

“पछिल्ला राजनीतिक घटनाक्रमहरुले २०६३ साल पछिको गलत मार्गचित्रले देश अहिलेको अवस्थामा आइपुगेको प्रष्ट हुन्छ”, थापाले भन्नुभयो, “२०६३ सालपछि शासन सत्तामा रहनेहरुको अवधारणा नै गलत भएकाले त्यसलाई सच्याउनुको विकल्प छैन् ।” राज्यको अभिभावकका रुपमा राजसंस्था रहने तर जनताले शासन गर्ने र सबै धर्मप्रति समान सम्मान गर्ने तर हिन्दू राष्ट्र नेपालको पहिचान कायम गर्नु नै उपयुक्त राजनीतिक पद्धति हुने वताउनुभयो ।

अध्यक्ष थापाले भ्रष्टाचार र अनियमितताबाट आर्जेको कालो धनलाई सेतो बनाउन नयाँ आर्थिक विधेयकमा लगानीको स्रोत देखाउनु नपर्ने ब्यवस्था समेटिएको समेत दाबी गर्नुभयो । “ठूला भ्रष्टाचारका घटनाबाट सिमित ब्यक्तिहरुले अनियमित रुपमा धन आर्जन गरेकाले त्यसलाई छानबिन र जफत गर्नुको सट्टा लगानी गर्न दिने ब्यवस्था ल्याइएको हो”, थापाले भन्नुभयो, “यो ब्रम्हलुट हो ।” थापाले विधेयकको उक्त प्रावधान हटाउन समेत माग गर्नुभयो ।

अध्यक्ष थापाले राप्रपाको आगामी महाधिवेशनलाई राष्ट्रिय राजनीतिको कोषेढुङ्गा बनाउने आफूहरुको प्रयास रहेको वताउनुभयो । महाधिवेशनपछि राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा, भ्रष्टाचार र आर्थिक भार थप्ने प्रदेश संरचना खारेजीको माग गर्दै आन्दोलनका रुपमा जनतामा जाने थापाको भनाई छ । “पहिलो शक्ति बन्न नसकेपनि अग्रणी शक्ति बनाउन लागिपर्छौँ”, थापाले भन्नुभयो, “काँग्रेस र कम्युनिष्टको विकल्प राप्रपा बनाउछौँ ।” यस्तै आगामी चुनावमा आवश्यकताका आधारमा चुनावी गठबन्धन गरिने समेत बताउनुभयो । उहाँलेले राप्रपा महाधिवेशनलाई चाँडो सम्पन्न गर्न प्रयत्नशील रहेको समेत उल्लेख गर्नुभयो ।

अध्यक्ष थापाले गीता छोएर राप्रपा एकता गर्दा तीन अध्यक्षले सपथ आएको स्मरण गर्दै अब राप्रपा विभाजन नहुने वताउनुभयो । राप्रपाको एकता जनताले आवश्यक ठानेको भन्दै थापाले जिल्लाहरुमा पार्टी भित्रका विवाद चाँडै हल गरिने वताउनुभयो । पत्रकार भेटघाटमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यद्वय राजाराम वर्तौला र तेजकुमार कुरुम्बाङ, केन्द्रीय सदस्य प्रेमराज थाम्सुहाङ सहित जिल्लाका नेताहरु समेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्