बालिका मृत्यु प्रकरणः आफन्तहरुले भने ‘तोडफोडमा हामी सम्लग्न छैनौं’



फिदिम, २० जेठ ।

उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनामा मृतक बालिकाका आफन्तहरुले प्रेस विज्ञप्ति जारी गर्दै आज साँझ जिल्ला अस्पतालमा भएको तोडफोडमा आफूहरुको कुनै सम्लग्ना नरहेको वताएका छन् ।

मृतक बालिकाका बढिबा (तुम्बा) रणबहादुर थाम्सुहाङ, छिमेकी फुपू गीता लिम्बु र आफन्त मञ्जिल तुम्बापोले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडको घटनामा सम्लग्ना नरहेको वताएका छन् । बालिकाको निधनले आफूहरु मर्माहत भएको र प्रशासनसँग सम्वाद चलिरहेको जनाउँदै उनीहरुले तोडफोडको घटनाबाट ध्यानाकर्षण भएको जनाएका छन् ।

‘करीब साँझ ७ बजेदेखि जिल्ला अस्पताल पाँचथरमा ढुङ्गा हान्ने, हुलदङ्गा गर्ने जस्ता कृयाकलाप भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यसमा हामी र हाम्रो परिवारका कुनै पनि सदस्यको सम्लग्नता नरहेको जानकारी गराउन चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ ‘… तसर्थ यस घटनालाई लिएर अस्पताल जस्तो संवेदनशील ठाउँमा अतिरञ्जित गर्ने, उच्छृङ्खल क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पु¥याउने जस्ता कृयाकलाप नगराउनुहुन सबैमा विनम्र अनुरोध छ ।’

उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको आज विहान मृत्यु भएपछि जिल्ला अस्पताल तनाबग्रस्त बनेको हो । साँझ अस्पतालमा ढुङ्गामुढा हुँदा अस्पतालमा ठूलो क्षति पुगेको छ । मृतक बालिकाको शव अहिलेसम्म अस्पतालको बेडमै छ ।

प्रतिक्रिया दिनुहोस्