उपचाररत बालिकाको मृत्यु भएपछि पाँचथर अस्पताल तनाबग्रस्त



पाँचथर, २० असोज

पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ ।

मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शब उठाउन अस्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कारबाहीको माग राख्दै नाराबाजीमा उत्रिएपछि अस्पताल तनाबग्रस्त बनेको छ । पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको उपचारका क्रममा आज विहान साढे सात बजे मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन् ।

हिँजो अस्पताल भर्ना भएकी बालिका आज ठिक भएपछि घर पठाउने तयारी भइरहेकै अवस्थामा आज विहान उपचारकै क्रममा सुई लगाइएपछि अचानक बेहोस भएकी थिइन् । लगत्तै उनको मृत्यु भएको थियो । मृतक बालिबाका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गर्नाले बालिकाको ज्यान गएको आरोप लगाएका छन् । स्वास्थ्यकर्मीहरुले औषधिको प्रयोगपछि हुने आकस्मिक प्रतिक्रियाका कारण बालिकाको ज्यान गएको हुनसक्ने वताएका छन् । यद्यपि यस विषयमा जिल्ला अस्पतालले आधिकारिक जानकारी गराउन बाँकी छ ।

विहानबाट तनाबग्रस्त बनेको अस्पताल अझै शान्त हुन सकेको छैन् । घटनाका सम्बन्धमा विहानबाटै छलफल भइरहेपनि समाधानमा पुग्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । विहानदेखि मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै स्वास्थ्यकर्मीलाई कारबाही गर्न तथा घटनाबाट छानबिन गर्न माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्