पेटी ठेकेदारले गाउँपालिकाको कार्यालयमा लगाए ताला



फिदिम, १७ असोज

गाउँपालिकाको प्रशासकीय भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै पेटी ठेकेदारले पाँचथरको फालेलुङ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

आफूहरुले गरेको कामको रकम निकासा नपाएको भन्दै फालेलुङ गाउँपालिकाको प्रशासकीय भवनको गत आ.व. २०७७/०७८ को ठेक्काको पेटी ठेक्का लिएका स्थानीय ठेकेदारहरुले आज दिउँसो गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले आफूहरुले पाउनुपर्ने रु. ४२ लाख रकम भुक्तानी नपाएको भन्दै आज दिउँसो ४ः३० बजे कार्यालयमा तालाबन्दी गरेका हुन् ।

फालेलुङ गाउँपालिकाको कार्यालयले गत आ.व.मा प्रशासकीय भवनको भुईं तला निर्माणका लागि रु. ९४ लाखमा कमल कन्स्ट्रक्सन फिदिमलाई ठेक्का लगाएको थियो । तर उक्त निर्माण कम्पनीले भवन निर्माणको काम अनिष गुरागाई, केशव गुरागाई, सुरेश थोक्लिहाङ लगायत स्थानीयलाई पेटी ठेक्का दिएको थियो । पेटी ठेक्का पाएकाहरुले कामको भुक्तानी नपाएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तर गाउँपालिकाले भने तत्कालै रकम निकासा दिन नसकिने स्पष्ट भइसकेको अवस्थामा पेटी ठेकेदारहरुले तालाबन्दी गरेको जनाएको छ । फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानका अनुसार निर्माणकर्ताहरुसँग गत फागुन ११ गते निर्माण सम्झौता भई असार २४ गतेसम्मा पहिलो तलाको ढलान सम्पन्न गर्ने कार्यादेश दिइएको थियो ।

तर निर्माणकर्ताहरुले गत वैशाकदेखि मात्रै काम थालेका थिए । उक्त ठेक्कामा निर्धारित मितिमा जति काम भएपनि म्याद थप नगर्ने भनि पहिल्यै स्पष्ट पारिएको चौहानको भनाई छ । असार २४ गतेसम्ममा ढलानसमेत सम्पन्न गर्नुपर्ने भएपनि त्यसको तयारी समेत नदेखिएकाले काम रोक्न र भएको कामको मूल्याङ्कन गरी निकासा लैजान आफूले भनेको तर निर्माणकर्ताहरुले नमानेको उहाँले वताउनुभयो । निर्माणकर्ताहरुले निरन्तर काम गरेपछि गत असार ३० गते गाउँ कार्यपालिकाको बैठक बसी साउन १० गतेसम्म निर्माण अवधि थप्ने निर्णय गरेको थियो ।

“असार १० गते आएको चालु आ.व.को बजेटमा नभएको कामका लागि पैसा राख्न सकिएन्” चौहानले भन्नुभयो, “साउन १० गतेसम्म म्याद थप गर्दा बजेटभन्दा बाहिरको क्षेत्रमा रकम दिनुपर्ने भएकाले थप कामका लागि बजेटको प्रवन्ध नहुने हुँदा आउँने गाउँसभाले भुक्तानी गर्ने भनि स्पष्ट पारिएको थियो ।”

उक्त समयमा पछि रकम दिएपनि हुन्छ भनेका पेटी ठेकेदारहरुले वीचमा रकम माग गरेपछि हिँजो बसेको गाउँ कार्यपालिकाको बैठकले रु. १० लाखसम्म रकम भुक्तानी दिने र सो भुक्तानीसमेत हिँउदे अधिवेशनबाट स्वीकृत गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चौहानको भनाई छ । उक्त विषयमा मुख्य ठेकेदारले भने हालसम्म कुनै कुरा वा गुनासो नराखेको उहाँले वताउनुभयो । आज अपराह्न तालाबन्दी भएको र यो विषय चाँडै हल गर्न आफूहरु लागिपर्ने गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्