छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा चार जनाको मृत्य



फिदिम, १७ असोज ।

प्रदेश नं. १ का तीन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–४ को ग्रामीण सडकमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करीब ३० मिटर तल खसेर दुर्घटना हुँदा लालीगुराँस नगरपालिका–५ का २२ बर्षीय पञ्चबहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको छ । साथै सोही ट्याक्टरमा सवार लालीगुराँस नगरपालिका–५ का १६ बर्षीय हिमबहादुर सार्की घाइते भई उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यसैगरी सुनसरीको दुहवी नगरपालिका–१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाइकल आफैँ अनितन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक दुहवी नगरपालिका–११ का ४५ बर्षीय इश्वरचन माझी (चौधरी) लाई उपचारका लागि विराटनगर अस्पताल पठाइएकामा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै दुहवी नगरपालिका–८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो काट्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका–५ का ७२ बर्षीय पवनलाल चौधरीलाई ठक्कर दिँदा घाइते भई उपचारका लागि बिराट मेडिकल कलेज पठाइएकामा चौधरीको उपचारका क्रममा राती ७ बजे मृत्यु भएको छ । सवारी दुर्घटनासम्बन्धी घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्