माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित



फिदिम । साफ च्याम्पियनसिप २०२१ को शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो ।

नेपालका लागि सब्स्टिच्युट मनीष डांगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरे । उनले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गरेका हुन् । यस नतिजापछि नेपालको तीन अंक भएको छ र बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रमण देखिएको थियो र अन्ततः यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले एक उत्कृष्ट बचाउ गरे ।

इब्राहिम हसनको हेडलाई किरणले पोस्टको लिन रोके । यस्तै अञ्जन विष्टले ६५ औं मिनेटमा प्रहार गरेको बल शक्तिशाली रहेन् र एउटा मौका गुमेको थियो । नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेका छैनन् । नेपालका तर्फबाट सम्भव एक मात्र उल्लेखनीय आक्रमण नवयुग श्रेष्ठको नाममा रह्यो ।

खेलको २३ औं मिनेटमा नवयुगले अञ्जन विष्टको पासमा गरेको हेड शक्तिशाली रहेन् र माल्दिभ्सका गोलरक्षक मोहम्मद फैसलले सजिलै जोगाए । माल्दिभ्सले केही आक्रमणमा नेपाली गोलरक्षक किरण लिम्बूलाई दबाबमा राखे पनि डिफेन्डिङ च्याम्पियन त्यसमा सटिक देखिएन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । (इकान्तिपुरबाट)

प्रतिक्रिया दिनुहोस्