सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने ?



फिदिम, १४ असोज । नेपालमा खासगरी भदौदेखि मङ्सिर महिनासम्म सिजनल हाइपरएक्युट प्यान–युभिआइटिस शापू रोगको प्रकोप बढी देखिने गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार शापू आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने खालको सङ्क्रमण हो। सेतो पुतलीका रौँहरूमा र तिनले निकाल्ने नाइट्रिक अक्साइड र पोटासियम साइनाइडबीच रियाक्सनका कारण आँखालाई हानि पुर्‍याउँछ।

आँखाको दृष्टिसम्म गुम्न सक्ने भएकोले यो अलि जटिल प्रकृतिकै समस्या भएको उनी बताउँछन्। प्रस्तुत छ बीबीसी न्यूज नेपालीका गनी अन्सारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता समेत रहेका डा. कृष्णप्रसाद पौडेलसँग गरेको अन्तर्वार्ताः

नेपालमा कुन क्षेत्रमा शापू बढी देखिन्छ ?

  • डा. मदन उपाध्यायसहितका नेपाली नेत्र विशेषज्ञहरूले २०३२ सालतिर नै पहिलो पटक नेपालमा शापू रोगको समस्या फेला पारेका हुन्। मध्य पहाडी भेगमा यसको बढी जोखिम रहेको देखिन्छ। त्यसमा पनि विशेषगरी पोखरा, स्याङ्जा र पर्वत आसपासका क्षेत्रमा शुरूमा बढी देखिएको थियो।
  • अहिले पनि पोखराको हिमालय आँखा अस्पतालमा शापूका धेरै बिरामी आइरहेका रिपोर्ट हामीले पाएका छौँ। भैरहवाका आँखा अस्पतालमा विशेषगरी पाल्पातिरका धेरै बिरामी पुगेका छन्। काठमाण्डूमा पनि शापूका केही बिरामी देखिएका छन्। त्यस हिसाबले जोखिम जहाँ पनि हुन्छ।

कुन उमेर समूहका मानिसलाई यसले बढी प्रभावित गर्छ ?

  • सबै उमेर समूहका मानिसलाई यसले प्रभावित पार्न सक्छ। तर बढी समस्या देखिएको चाहिँ युवा तथा बालबालिकामा छ। त्यो उमेरमा हुने भएपछि जटिलता पनि लामो समयसम्म रहने भयो। महँगो पर्न जान्छ, झनै गाह्रो हुने भयो। त्यो हिसाबले सबै सचेत हुन आवश्यक छ।

रोकथामका लागि के गर्नुपर्छ ?

  • उपचार अलिकति जटिल छ, जटिलता हुने सम्भावना बढी हुन्छ। त्यो हिसाबले रोकथाम तथा नियन्त्रणका लागि हामीले पहिलो ध्यान दिनुपर्ने कुरा सेतो बत्तीमा पुतलीहरू झुम्मिने भएकाले त्यो वरिपरि बालबालिकालाई खेल्न र पढ्न दिनु भएन।
  • घरका अरू सदस्य पनि त्यसरी सेतो बत्तीमुनि खाने अथवा सुत्ने गर्नु भएन। त्यसैगरी घरभित्र सेतो पुतली नछिरोस् भनेर झ्याल, ढोकामा जाली लगाउने अथवा बन्द गर्ने गर्नुपर्छ।
  • कतिपयका घरमा बिस्तरामाथि नै बत्ती हुन्छ। त्यो निभाउने बेला सेतो पुतली झरेर आँखामा पर्ने जोखिम हुन्छ। त्यसो भएर यो समयमा झुलको प्रयोग गरियो भने लामखुट्टेबाट र सेतो पुतलीबाट पनि जोगिने हुन्छ।

यसको उपचार के हो ?

  • यसको उपचार नेत्र चिकित्सक वा विशेषज्ञहरूले गर्छन्। आँखाभित्र नै औषधिको सुई लगाएर उपचार गरिन्छ भने जटिल अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ।
  • त्यसैले बेलैमा उपचार गराएमा दृष्टि जोगाउन सकिन्छ। नभए दृष्टि पनि गुम्न सक्छ अथवा आँखा नै सुकेर जान सक्छ।

शापू रोग लागेको कसरी थाहा पाउन सकिन्छ र कति बेला अस्पताल जानुपर्ने हुन्छ ?

  • धेरैजसो आँखा रातो हुँदा हामी आँखा पाकेको भन्छौँ। त्यसो हुँदा चिप्रा लाग्छ। तर यदि आँखा रातो भइरहेको छ, दुखिरहेको छ, बिझाइरहेको छ अनि चिप्रा लागेको छैन भने शापू लागेको शङ्का गर्नुपर्‍यो।
  • साथै शापू लागेमा आँखाले हेर्न गाह्रो हुन्छ। सानो बच्चाले भन्न नसके हुँदा रुने गरेमा र दुखेजस्तो व्यवहार देखाउने गरेमा शङ्का गर्नुपर्‍यो। अलिकति ढिलो भयो भने आँखाको नानीमा सेता दागहरू देखिन सक्छन्। लक्षण देखिनासाथ आँखा अस्पताल गइहाल्नुपर्छ। चिकित्सकको परामर्शअनुसार उपचार गराइहाल्नुपर्छ। (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्