यी हुन् कोभिड–१९ को रोकथाममा याङवरक गाउँपालिकाका प्रयासहरु



नेत्रप्रसाद कोइराला, थर्पु ।

अन्यत्र जस्तै याङवरक गाउँपालिकालाई समेत कोभिड–१९ को दोश्रो लहरले प्रभावित गरेको छ । दोश्रो लहरको सुरुआतमै याङवरकमा एक दर्जन बढी सङ्क्रमित फेला परेपछि गाउँपालिकाले सम्पूर्ण ध्यान केन्द्रीत गरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा ब्यवस्थापनका कार्य गर्दै आएको छ ।

गाउँपालिकाले हालसम्म सम्भावित सङ्क्रमितको पहिचानका लागि १ हजार १ सयभन्दा बढी एण्टिजेन परीक्षण गरेको छ । उक्त परीक्षणबाट ४५० जनाभन्दा बढिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकाहरुको होम आइसोलेसनमा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानी तथा परामर्शमा उपचार भइरहेको छ । याङवरक गाउँपालिकाले स्वास्थ्य समस्या हुने सङ्क्रमितहरुको उपचारका लागि गाउँपालिकाको केन्द्र थर्पूमा रहेको सामुदायिक भवनमा १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । यहाँबाट स्वास्थ्यकर्मीको निगरानीमा सङ्क्रमितहरुको उपचार गर्ने गाउँपालिकाले प्रवन्ध मिलाइएको याङवरक गाउँपालिका स्वास्थ्य शाखाका संयोजक लता गुरुङले वताउनुभयो ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाले मात्रै सङ्क्रमण फैलन रोक्न सक्छ भन्ने विश्वाससहित गाउँपालिकाले गोरखा वेलफेयर सेन्टरको सहयोगमा अस्थायी कोभिड अस्पताल, नागी स्वास्थ्य चौकी र च्याङथापू स्वास्थ्य चौकीमा वास कर्नर स्थापना गरिएको छ । यस्तै अस्थायी कोभिड अस्पताल र च्याङथापू स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर समेत प्रयोगमा ल्याई सङ्क्रमितहरुलाई अक्सिजनसहितको उपचार सेवा प्रदान गर्ने ब्यवस्था गाउँपालिकाले मिलाएको छ । अस्थायी कोभिड अस्पतालमा ५ वटा अक्सिजन सिलिण्डर मौज्दात राखिएको छ ।

याङवरक गाउँपालिका भारतसँग सीमा जोडिएको स्थान भएकाले भारततर्फबाट आउने तथा भारत जाने स्थानीयवासीलाई सहयोग गर्न च्याङथापूमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । यस्तै सबै वडाहरुमा कोभिड–१९ का कारण मृत्यु हुनेहरुको दाह संस्कार गर्नका लागि शव दाह स्थल तोकिएको छ ।

गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको सीआइसीटी टिम गठन गरी प्रत्येक वडामा होम आइसोलेसनमा बसेका कोरोना भाइरसका सङ्क्रमितहरुको नियमित निगरानी, परामर्श, फलोअप र स्वास्थ्य उपचारको प्रवन्ध मिलाएको छ । यस्तै सबै स्वास्थ्य संस्थाहरुले एण्टिजेन परीक्षण गर्न सक्ने ब्यवस्था गरी सङ्क्रमणको आशंका भएका ब्यक्तिहरुको तत्कालै र नजिकै परीक्षणको प्रवन्ध मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिनुभयो ।

यसका लागि आवश्यक पर्ने एण्टिजेन किट गाउँपालिकाले खरिद गरी ब्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । कोभिड–१९ विरुद्ध नियमित रुपमा सचेतनामूलक प्रचार–प्रसारमा जोड दिँदै गाउँपालिकाले प्रत्येक ५० घरको एक निगरानी समूह तथा वडा स्तरीय निगरानी समूह गठन गरी परिचालन गरेको छ ।

गाउँपालिकाले दैनिक रुपमा कोभिड–१९ को परीक्षणको संख्या, सङ्क्रमित हुने र निको भएकाको संख्या सामाजिक सञ्जाल तथा गाउँपालिकाको वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । गाउँपालिकाले कोभिड–१९ फोकल पर्सन तोकी दैनिक रुपमा गाउँपालिकाको अवस्था अपडेट गर्दै आएको छ ।

यस्तै कोभिड–१९ को रोकथाम तथा नियन्त्रण, परीक्षण तथा उपचारात्मक कार्यमा आवश्यक पर्ने औषधि, सामग्री तथा उपकरणको नियमित आपूर्ति र ब्यवस्थापनको कार्य हुँदै आएको छ । गाउँपालिकाले नेपाल सरकारको मापदण्डअनुसारको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्नुका साथै कोभिड–१९ विरुद्धको अभियानका सक्रिय नागरिक संघ संस्थाहरुसँग नियमित सहकार्य समेत गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाई छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि रु. ३० लाख बजेटको प्रवन्ध गरेको छ । यस्तै जोखिम मोलेर कोभिड–१९ विरुद्धको अभियानमा सक्रिय रहि होम आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित गर्न दैनिक रु. १ हजार खाजा तथा यातायात भत्ता उपलब्ध गराउँदै आएको छ । कोभिड–१९ विरुद्धको लडाईं आम नागरिक र स्थानीय सरकारवीचको सहकार्यले मात्रै सम्भव हुने भएकाले आम नागरिकको सल्लाह र स्थानीय आवश्यकताका आधारमा गाउँपालिका अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्