प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै याङवरक



नेत्रप्रसाद कोइराला, थर्पु ।

याङवरक गाउँपालिकाले सेवा प्रवाहलाई सहज बनाउन आवश्यक पर्ने पूर्वाधारहरुलाई पूर्णता दिँदै लगेको छ ।

याङवरकले गाउँपालिकाको प्रशासकीय भवन, वडा कार्यालयका भवनहरु, स्वास्थ्य चौकी तथा विद्यालयका भवनहरु, खोप केन्द्र लगायतका भवन निर्माण कार्यलाई पूरा गर्न आर्थिक वर्ष २०७८/०७९ को बजेटको ब्यवस्था गरेको हो । याङवरकले आ.व. २०७८/०७९ मा छ वटै वडा कार्यालयहरुको सेवा आफ्नै भवनबाट सञ्चालन गर्ने, गाउँपालिकाको प्रशासकीय भवन समेत प्रयोगमा ल्याउने र सबै वडाहरुमा बर्थिङ सेन्टर सञ्चालन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरेको हो ।

याङवरक गाउँपालिकाको प्रशासकीय भवन वडा नं. ४ निशानधाम छेउमा निर्माणाधीन छ । आ.व. २०७८÷०७९ को बजेटमा भवन निर्माणका थप रकम ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । बहुवर्षीय ठेक्कामार्फत प्रशासकीय भवन निर्माण कार्य भइरहेको छ । गाउँपालिकाको तीन तले प्रशासकीय भवन निर्माणको ठेक्का महादेवी खिम्ती–अञ्जना–हिमतारा जेभीले लिएको छ । कुल रु. पाँच करोड ४१ लाख ४३ हजार ५६ रुपैयाँ लागतमा भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ ।

गत वर्षको जेठ २९ मा भएको ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ । भवन निर्माणको कार्य गत असारबाटै सुरु भएको थियो । यद्यपि कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण भवन निर्माणले अपेक्षित गति लिन सकेको थियो । हालैमात्र प्रशासकीय भवनको पहिलो तला ढलानको कार्य सकिएको छ । “यही वर्ष एक तलाबाट मात्रै भएपनि सेवा दिने कार्य सुरुआत गर्ने योजनामा गाउँपालिका छ”, गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक कमलकुमारी योङहाङले भन्नुभयो, “सकेसम्म भवन निर्माणलाई पूर्णता दिन पहल र प्रयत्न गर्दै आएका छौँ ।”

वडा नं. २ र वडा नं. ५ को वडा कार्यालय भवन आ.व. ०७८/०७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुवै वडा कार्यालय भवनहरु एक वर्षअघिबाट निर्माण थालिएका हुन् । वडा नं. २ को अढाई तले वडा कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । हिमतारा आरके जेभीसँग १ करोड ७० लाख ४८ हजार ९८२ रुपैयाँ लागतमा उक्त भवन निर्माणको ठेक्का सम्झौता भएको हो । भवनको पूर्वाधार तर्फको अधिकांश कार्य सम्पन्न भई फिनिसिङको काम भइरहेको छ । बजेटमा उक्त भवनको पूर्णताका लागि ९७ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

यस्तै वडा नं. ५ को वडा कार्यालय भवन निर्माणका लागि संघीय सरकारको समपुरक अनुदानसँग साझेदारीका लागि ७३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत वर्षको असारमा निर्माण थालिएको भवन हिमतारा आरके जेभीले १ करोड ६२ लाख १८ हजार ४८८ रुपैयाँ लागतमा निर्माण गर्ने सम्झौता छ । धमाधम निर्माण भइरहेको यो भवन समेत आ.व. ०७८/०७९ मै सञ्चालनमा आउनेछ ।

गाउँपालिकाले आ.व. ०७८/०७९ को बजेटमा वडा नं. २ मा वर्थिङ सेन्टर निर्माणका लागि २५ लाख रुपैयाँ तथा ओयाम स्वास्थ्य चौकी भवन निर्माणका लागि १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । याङवरकमा वडा नं. २ मा मात्रै बर्थिङ सेन्टर छैन् । सबै वडाहरुबाट प्रसुति सेवा उपलब्ध गराउन बजेटमा उक्त कार्यक्रम राखिएको गाउँपालिका उपाध्यक्ष एवं योजना तर्जुमा समितिका संयोजक कमलकुमारी योङहाङले जानकारी दिनुभयो । यस्तै उल्लेख्य संख्यामा सेवाग्राही रहने ओयाम स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि भवन निर्माणमा बजेट छुट्ट्याइएको हो ।

गाउँपालिकाले आ.व. ०७८/०७९ को बजेटमा शैक्षिक कार्यक्रमहरु सहित विद्यालय भवन निर्माण तथा मर्मत गर्ने कार्यका लागि एकामुष्ठ १ करोड ५९ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै बोझेधारा खेल मैदान निर्माणका लागि १५ लाख रुपैयाँ र बहुउद्देश्यीय कवर्डहल निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

भवन लगायत पूर्वाधारका संरचनाहरुको ब्यवस्थापनले मात्रै गाउँपालिका र गाउँपालिका मातहतका सेवा प्रवाह गर्न सहज हुने र गाउँपालिका संस्थागत हुने भएकाले प¥याप्त बजेट छुट्ट्याइएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेको भनाई छ । प्रथम ऐतिहासिक स्थानीय तहका जनप्रतिनिधिहरुको नेतृत्वमा गाउँपालिका र सो मातहतका निकायलाई संस्थागत र सवल बनाउँदै लैजाने सके भविश्यमा अरु जनप्रतिनिधिलाई काम गर्न सजिलो हुने तथा गाउँपालिकावासीले सहज रुपमा सेवा पाउने भएकाले त्यसतर्फ विशेष ध्यान दिइएको अध्यक्ष घिमिरेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्