पाँचथरमा टोलसम्म पार्टी गतिविधिलाई तीब्रता दिँदै एमाले



पाँचथर, १४ असोज ।

पाँचथरमा नेकपा (एमाले)ले पार्टीका गतिविधिलाई वडा र टोलसम्म विस्तार गर्दै लगेको छ ।

करीब तीन वर्षपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता भङ्ग हुनका साथै एमालेका तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी छाडेपछि पाँचथरमा एमालेले सङ्गठनलाई सशक्त बनाउन पार्टी गतिविधिलाई तीब्र पारेको हो । यस क्रममा जिल्ला, स्थानीय तह, वडा हुँदै एमालेले टोल स्तरसम्मका पार्टी कमिटीहरुलाई पुनर्गठन गर्दै पार्टी गतिविधिमा सक्रिय बनाएको हो ।

एमाले पाँचथरले जिल्ला कमिटीको बैठकमार्फत कार्ययोजना बनाई जिल्लाका आठ वटै स्थानीय तहहरुमा कार्यकर्ता भेला आयोजना गरेको थियो । भदौ अन्तिम सातादेखि असोज २ गतेसम्ममा पाँचथरका आठ वटै स्थानीय तहहरुमा एमालेले कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गरेको थियो । भेला तथा प्रशिक्षणमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्री श्रीप्रसाद जबेगू, संविधानसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारी सहित जिल्लाका नेताहरु सहभागी थिए ।

आठ स्थानीय तहमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमहरुले जिल्लाका ६० वटै वडामा प्रशिक्षण तथा भेलाको मिति तय गर्नुका साथै पार्टी गतिविधिलाई सक्रिय गराउने कार्ययोजना निर्माण गरेको थियो । यसपछि एमालेले वडा स्तरमा बैठक, भेला, प्रशिक्षण, पार्टी कमिटी पुनर्गठन लगायत गतिविधि गर्दै आएको छ । वडाहरुमा हुने बैठक, भेला, प्रशिक्षण लगायतले टोलस्तरमा सोही प्रकारका गतिविधि गर्ने कार्ययोजना तय गरेको एमाले पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीले जानकारी दिनुभयो ।

एमाले पाँचथर जिल्ला कमिटीको बैठकले नेपाल समूहले पार्टी छाडेपछि रिक्त भएका तथा विगतमा समेत पूर्ति नभएका कतिपय पदहरुमा समेत नेताहरुलाई मनोनित गर्दै पार्टीको जिल्ला अधिवेशनको तयारी समेत थालेको छ । यस क्रममा एमाले पाँचथर जिल्ला कमिटीको सचिवमा उपसचिव धनकुमार फियाकलाई जिम्मेवारी दिइएको छ । एमालेका पुराना नेता फियाक गत अधिवेशनबाट उपसचिवमा निर्वाचित भएका थिए ।

यस्तै एमालेले जिल्ला कमिटीको उपसचिवमा नरबहादुर गुरुङलाई मनोनित गरेको छ । जिल्ला समन्वय समितिका सदस्य समेत रहनुभएका गुरुङ एमालेभित्र वैचारिक नेताका रुपमा स्थापित हुनुहुन्छ । यस्तै एमालेले स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव, उपसचिव लगायत पदहरुमा समेत नेताहरुलाई जिम्मेवारी दिएको छ ।

विभाजनको असर र सरकारबाट बहिर्गमन भएको भएपनि एमालेले सञ्चालन गरेका अभियानमा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ । जिल्लाको फाल्गुनन्द, मिक्लाजुङ, हिलिहाङ, फिदिम लगायत स्थानीय तहमा अन्य दलका कार्यकर्ताहरु एमालेमा प्रवेश समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्