चिण्डे–असिने आयोजना नियमित सञ्चालनमा, आयोजना समेत हस्तान्तरण



नेत्रप्रसाद कोइराला, थर्पु ।

चिण्डे–असिने वृहत खानेपानी आयोजना नियमित सञ्चालनमा आएको छ । उक्त आयोजना निर्माण कम्पनी एवं गाउँपालिकाबाट उपभोक्ता समितिलाई हस्तान्तरण समेत भइसकेको छ ।

याङवरक गाउँपालिका वडा नं. ४ थर्पु बजार र आसपासको क्षेत्रमा वितरणका लागि निर्माण सम्पन्न भएको आयोजना याङवरक गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो ।

खानेपानी अभावको समस्या समाधान गर्ने उद्देश्यले निर्माण थालिएको योजना करीब पूरा भएपछि असार दोश्रो साता याङवरक गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तावालाई कागजात हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ, प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य, याङवरक–४ का वडाध्यक्ष शहरनन्द योङहाङ सहित उपभोक्ता समितिका पदाधिकारीहरु, उपभोक्ताहरु, गाउँपालिकाका कर्मचारी तथा प्राविधिकहरु लगायतको उपस्थिति थियो ।

थर्पु बजारदेखि ६ किलोमिटर टाढा चिण्डे–असिने मुहानबाट गाउँपालिकाले संघीय सरकारसँगको लागत साझेदारीमा उक्त आयोजना निर्माण गरेको हो । रिजर्भ ट्याङ्कीसम्मका संरचना पिङ्की कन्स्ट्रक्सनले ५६ लाख ८६ हजारको लागतमा निर्माण पूरा गरेको थियो । गाउँपालिकाको बजेट तथा उपभोक्ताहरु समेतको लागत साझेदारीमा वितरण लाइनका अन्य संरचना तथा पाइपलाइन उपभोक्ता समितिले ४० लाख ५४ हजारमा निर्माण सम्पन्न गरेको हो ।

आयोजनाले मिटर सहितका १२९ वटा धारा घर–घरमा जडान गरिसकेको छ । विगतदेखिको खानेपानी अभावको समस्या समाधानका लागि बाह्रै महिना सञ्चालन हुने आयोजना निर्माण पूरा हुँदा उपभोक्ताहरु खुशी भएका छन् । अव खडेरी परेपनि खानेपानीको अभाव नहुने उपभोक्ता समितिका सचिव जीवनकुमार दाहालको भनाई छ । रिजर्भ ट्याङ्कीमा दैनिक करीब ८६ हजार लिटर पानी मौज्दात रहने हुँदा खानेपानीको अभाव नहुने उपभोक्ता समितिले जनाएको छ ।

बजार क्षेत्रमा खानेपानी, ढल निकासको प्रवन्ध आवश्यक रहेकोमा पूर्वाधारहरु क्रमशः बन्दै जाँदा गाउँपालिकाको केन्द्र सदाको भन्दा सहज बन्दै गएको छ । आयोजना सञ्चालनका लागि मुहान, रिजर्भ ट्याङ्की लगायत संरचना निर्माणका लागि उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर ताबा सहित याङवरक–५ का बागमती माबो, बलबहादुर माबो, अमरबहादुर तावा, डम्बर सेवाहाङ लगायतले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

आयोजनामा पानीको मुलमा दुई वटा ट्याङ्की, तीन वटा सङ्कलन ट्याङ्की, एउटा चाप नियन्त्रण ट्याङ्की, वितरण च्याम्बर र अन्य दुई वटा ट्याङ्की निर्माणको कार्य समेत पूरा भएको छ । आयोजनाबाट थर्पु बजारका चार स्थानमा आगो नियन्त्रणका लागि फायर हाइड्रेन्ट समेत राखिएको उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्