गाउँपालिकाको सहयोगपछि याङवरकमा ब्यवसायिक बन्दै बाख्रा पालन



फिदिम, १४ असोज

याङवरक गाउँपालिका–५ नागीका रामकुमार गुरागाइले विगतमा सानो परम्परागत खोरमा बाख्रा पाल्दै आएका थिए । प्रायः नगदेवाली र खेतीका काममा ब्यस्त हुने रामकुमार जस्तै यहाँका कृषकहरुलाई दिउँसोको समयमा खोरबाट बाख्रा निकालेर अन्यत्रै सार्न, फेरी बेलुकी खोरमै थन्काउन झण्झट हुन्थ्यो । यहि कारण यहाँका ब्यवसायिक रुपमा बाख्रा पालन हुदैनथ्यो ।

तर गुरागाइले अहिले बाख्रा पालनलाई बढाउँदै लगेका छन् । याङवरक गाउँपालिकाले ब्यवसायिक बाख्रा पालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत लागि सहयोग गरेपछि गुरागाइका घरमा बाख्राको नयाँ र आकर्षक खोर बनेको छ । बाख्रा थप्दै जैलानुभएका उनले भने, “ब्यवस्थित खोर निर्माण गरेकाले अहिले धेरै सजिलो भयो । अब बाख्रा थप्दै लान्छु ।”

याङवरक–६ नागीकै कात्तिकेका भीम पुरीले ब्यवसायिक बाख्रा पालन थालेका छन् । “हाम्रो क्षेत्रमा घाँस प्रशस्तै पाइन्छ । त्यसैले १०० वटा बाख्रा पु¥याउने लक्ष्यसहित बाख्रा पालन थालेको छु”, पुरीले भने, “मासुको मूल्य राम्रो रहेकाले ढुक्कसाथ यो पेशामा लागेको हुँ ।” पुरीले हालसम्म करीब रु. तीन लाख खर्च गरेर बाख्राको ब्यवस्थित खोर निर्माण गर्नुका साथै बाख्रा थप गरेका छन् । पुरीले सुरुआत गरेको ब्यवसायिक बाख्रा पालनमा अहिले ४० वटाभन्दा बढी बाख्रा र पाठापाठी छन् ।

याङवरक–६ नागीकै सीता खड्का गुरागाइको परिवारले आकर्षक खोर निर्माण गरी ब्यवसायिक बाख्रा पालन थालेको छ । काबेली नदी जोड्ने ग्रामीण सडकको छेउमा निर्माण गरिएको गुरागाई परिवारले निर्माण गरेको बाख्राको खोर बाटोमा यात्रा गर्ने धेरैले हेर्दै हिँड्छन् । “अहिले नयाँ खोर बनाएपछि धेरै सजिलो भएको छ”, गुरागाइले भनिन, “अब बाख्रा थप्दै लैजान्छौँ । बाख्रा पाल्न सजिलो, अरु काम पनि भ्याइने र छिटै आम्दानी पनि हुने भएकाले यसलाई मुख्य पेशा बनाउने प्रयासमा छौँ ।”

याङवरक गाउँपालिका–६ का १० परिवार कृषकहरुले ब्यवसायिक बाख्रा पालन प्रवद्र्धन कार्यक्रममा गाउँपालिकाबाट ५० प्रतिशत लागत साझेदारीमा सहयोग प्राप्त गरेपछि बाख्रा पालनले ब्यवसायिक रुप लिएको हो । आ.व. २०७७÷०७८ मा गाउँपालिकाले ब्यवसायिक बाख्रा पालन प्रवद्र्धनका लागि रु. १० लाख बजेट छुट्ट्याएको थियो । जसमध्ये रु. ५ लाख वडा नं. ६ का लागि विनियोजन भएको थियो । उक्त बजेट वडामा सक्रिय कृषक समूहका रुपमा कावामा कृषक समूहले प्राप्त गरेको थियो ।

४१ परिवार आवद्ध रहेको यस समूहले समूहमा आवद्ध भएकाहरु मध्येबाट १० परिवारलाई ५० प्रतिशत लागत साझेदारीमा बाख्रा पालन प्रवद्र्धनका लागि रु. ५० हजारका दरले रकम दिएको समूहका सचिव एवं याङवरक गाउँपालिका वडा नं. ६ का वडा सदस्य यामकुमार काम्बाङले बताए । “तीन माउभन्दा बढी बाख्रा पालिरहेकामध्ये सदस्यहरुबाट लागत साझेदारी गर्ने कृषक छनौट हुनुभएको थियो”, काम्बाङले भने, “लागत साझेदारी रकम पाएका सहित अन्य कृषकहरुले समेत ब्यवसायिक बाख्रा पालन थाल्नुभएको छ ।”

याङवरक गाउँपालिकाले यसअघि वडा नं. ३ ओयाममा समेत ब्यवसायिक बाख्रा पालन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिसकेको छ । “कृषकहरुलाई कृषि र पशु पालनमा ब्यवसायिक बनाउन लागत साझेदारीमा सहयोग गर्ने कार्यक्रमलाई विगतका आर्थिक वर्षहरुबाटै निरन्तरता दिइदै आएको छ”, याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले भनिन, “यस प्रकारका कार्यक्रमहरुले राम्रो परिणाम समेत दिएका छन् ।”

पछिल्लो समय जिल्लामा बाख्रा पालनले ब्यवसायिक रुप लिन थालेको छ । यहाँ ब्यापारीहरुले गाउँ–गाउँमा पुगेर प्रतिकिलो ६०० भन्दा बढीले खसि बाख्रा खरिद गर्ने गरेका छन् । खसिबाख्राको धेरै मासु जिल्लामै खपत हुन्छ भने केही जिल्ला बाहिर समेत निर्यात हुँदै आएको छ । खेतीयोग्य जमिन बाँझिने क्रम बढेसँगै जिल्लाका अन्य स्थानमा समेत ब्यवसायिक रुपमा बाख्रा पालन गरी त्यस्तो जमिनको सदुपयोग गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्