काँग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि



पाँचथर, ११ असोज

पाँचथरका आठ मध्ये नेपाली काँग्रेसले तीन स्थानीय तहमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ । बाँकी पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व छनौट भएको छ । नेतृत्वमा अधिकांश युवा र जनप्रतिनिधिले स्थान पाएका छन् ।

जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा काँग्रेसले मतदानमार्फत नेतृत्व चयन गरेको हो । १४ वटा वडा रहेको फिदिम नगरपालिकाको काँग्रेस सभापति पदमा फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङ र फिदिमका नगर प्रमुख ओनाहाङ नेम्वाङका सल्लाहकार केशव नेम्वाङको प्यानलवीच चुनावी प्रतिस्पर्धा भएको थियो । २६१ जना क्षेत्रीय प्रतिनिधि रहेकामा २६० जनाले मतदानमा भाग लिएका थिए । नगर कार्यसमितिको सभापतिमा वडाध्यक्ष गुरुङ १४९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेम्वाङले १०८ मत प्राप्त गर्नुभएको छ ।

फिदिम नगर कार्यसमितिको उपसभापतिमा बालकृष्ण लावती र सुकपाल तुम्बापो विजयी हुनुभएको छ । उहाँहरुले समान १३७ मत प्राप्त गर्नुभएको छ । उपसभापतिका अर्का उम्मेद्वार श्रीप्रसाद घिमिरेले १३२ मत प्राप्त गर्नुभयो । यस्तै नगर कार्यसमितिको सचिवमा नरेन्द्र गुरुङ र अविनाश भट्टराई विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः १५८ र १३६ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिवमा नवीनकुमार तुम्बापो र कुशल राई विजयी हुनुभएको छ । नगर कार्यसमितिका सात निर्वाचित पदाधिकारीमध्ये सभापति, दुई जना उपसभापति र सचिव नरेन्द्र गुरुङ गरी चार जना वडाध्यक्षहरु हुनुहुन्छ । उपसभापतिमा पराजित घिमिरे समेत वडाध्यक्ष हुनुहुन्छ ।

यस्तै काँग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिको सभापति सुकवीर नेम्वाङ विजयी हुनुभएको छ । आइतवार राती सम्पन्न मतगणनाअनुसार नेम्वाङले ६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमपी चेम्जोङले ४४ मत प्राप्त गर्नुभएको छ । सात वटा वडा रहेको फाल्गुनन्दमा काँग्रेसका १३२ जना क्षेत्रीय प्रतिनिधि रहेकामा १२२ जना मतदान प्रकृयामा सहभागी थिए । गाउँ कार्यसमितिका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिकामा समेत चुनावमार्फत काँग्रेसको नयाँ नेतृत्व चयन भएको छ । यहाँ गाउँ कार्यसमितिको सभापतिमा ५४ मत प्राप्त गर्दै शेरबहादुर नुगो सभापति निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सविन माबोले ५१ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा समान ५७ मत प्राप्त गर्दै रामचन्द्र ढुङ्गेल र कृष्णप्रसाद प्याकुरेल निर्वाचित हुनुभएको छ । उहाँहरुका प्रतिद्वन्द्वी सुभाषचन्द्र काम्बाङ र खगेन्द्र सिग्देलले क्रमशः ४० र ३८ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिवमा समेत मतदानमार्फत नै तिलबहादुर राई र कृष्ण कोइराला विजयी हुनुभएको छ । उपसभापतिमा भने प्रेमराज काफ्ले र देउकुमार योङहाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । उक्त कार्यसमितिका अधिकांश पदाधिकारी युवा छन् भने उपसभापति योङहाङ याङवरक–२ का वडाध्यक्ष हुनुहुन्छ ।

बाँकी पाँच वटा गाउँपालिकामा सहमतिमा काँग्रेसको नयाँ नेतृत्व चयन भएको छ । जसअनुसार फालेलुङ गाउँपालिकाको सभापति वीरबिक्रम थाम्सुहाङ, हिलिहाङ गाउँपालिकाको सभापतिमा सन्तोष लिङदेन, कुम्मायक गाउँपालिकाको सभापतिमा दुर्गाप्रसाद बम्जन, तुम्बेवा गाउँपालिकाको सभापतिमा बावुराम खड्का र मिक्लाजुङ गाउँपालिकाको सभापतिमा सन्तकुमार शेर्मा (सन्तोष) को नेतृत्वमा सहमतिमा नयाँ कार्यसमिति गठन भएको काँग्रेस पाँचथरमा जनाएको छ । यी कार्यसमितिका अधिकांश पदाधिकारीहरु युवा छन् ।

काँग्रेसले स्थानीय तहका अधिकांश पदाधिकारीमा नयाँ पुस्तालाई जिम्मेवारी दिएको छ । उनीहरुमध्ये कतिपय जनप्रतिनिधि समेत छन् । आठ मध्ये चार स्थानीय तहका सभापतिहरु वडाध्यक्ष छन् । फिदिम नगरका सभापति गुरुङ सहित फालेलुङका सभापति थाम्सुहाङ, फाल्गुनन्दका सभापति नेम्वाङ र मिक्लाजुङका सभापति शेर्मा वडाध्यक्ष हुन् । काँग्रेसको जिल्ला कार्यसमिति सभापतिमा काँग्रेसका पूर्वसचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रुपनारायण जबेगूवीच प्रतिस्पर्धा हुन लागेको छ । दुवै समूहले जिल्ला कार्यसमितिका पदाधिकारीमा प्यानल नै खडा गरी प्रतिस्पर्धा गर्न लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्