जन्मदिनमा खड्काद्वारा शैक्षिक सामग्री र खाद्यान्न सहयोग



फिदिम, ३१ भदौ ।

युवा ब्यवसायी महेन्द्र खड्काले आफ्नो जन्मदिनको अवसरमा फिदिम नगरपालिका–११ को एक अतिविपन्न आर्थिक अवस्थाको परिवारलाई खाद्यान्न तथा सो परिवारका बालकका लागि शैक्षिक सामग्री उपलब्ध गराउनुभएको छ ।

जन्मदिनको अवसरमा आज फिदिम–११ फलाँटे स्थित पाथीभरा आधारभूत विद्यालयमा एक कार्यक्रमको आयोजना गरी खड्काले स्थानीय पहलमान परियार तथा उहाँकी श्रीमती गंगामाया परियारको परिवारलाई चामल, दाल, नुन, तेल सहितका खाद्यान्न सहयोग गर्नुभएको हो ।

यस्तै खड्काले बावु आमाले छाडेपछि वृद्ध हजुरबुवा हजुरआमा पहलमान–गंगामायासँग बस्दै आएका उहाँहरुका नाति आयुषलाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री र लत्ता कपडा उपलब्ध गराउनुभएको छ । जनसेवा समाज पाँचथरले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा खड्का सहित समाजका अध्यक्ष राजेन्द्र अधिकारी, फिदिम–११ का कार्यवहाक वडाध्यक्ष यज्ञविक्रम न्यौपाने सहितले सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।

खड्काले पाथीभरा आधारभूत विद्यालयमा अध्ययनरत आयुषका लागि विद्यालय र घरमा लगाउने छुट्टाछुट्टै कपडा, जुत्ता, चप्पल, कापी, कलम सहित उनका लागि आगामी एक वर्षलाई पुग्ने सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध गराउनुभएको जनसेवा समाजका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

जन्मदिन सहितका उत्सवका कार्यक्रमहरुमा गरिने खर्च आर्थिक रुपले विपन्न तथा सहाराविहीन परिवारको जीवनयापन तथा बालकको अध्ययनमा सघाउ पुग्ने देखेपछि आफूले उक्त सहयोग गरेको खड्काले वताउनुभयो । आफूले गरेको सानो सहयोगले धेरै ठूलो काम गर्न नसकेपनि समाजमा सकारात्मक सन्देश दिने अपेक्षा गरेको उहाँको भनाई छ ।

कार्यक्रममा फिदिम–११ का कार्यवहाक वडाध्यक्षले यस प्रकारका कार्यहरुको समाजले अनुसरण गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा स्थानीयवासीहरु, पाथीभरा आधारभूत विद्यालयका प्रधानाध्यपक चित्रकला न्यौपाने लगायत शिक्षकहरु समेतको उपस्थिति थियो ।

खड्काले जन्मदिनको अवसरमा क्षितिज नाट्य समूह झापालाई समेत भवन निर्माणका लागि रु. २५ हजार बराबरको इटा उपलब्ध गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्