मूल्य र भाडा वृद्धि रोक्न तथा पठन–पाठन सुचारु गर्न अनेरास्ववियुको माग



फिदिम, ३० भदौ

अनेरास्ववियु पाँचथरले बढ्दो मूल्य वृद्धि तथा सवारीका साधनको भाडामा वृद्धि रोक्न तथा सहज वातावरणमा पठन–पाठनको ब्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी पाँचथरले आज प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाउँदै जिल्लाका स्थानीय सडकहरु सहित अन्य जिल्ला जोड्ने मुख्य सडकहरुमा चल्ने सवारीका साधनले सवारी भाडामा अनियन्त्रित वृद्धि गर्दा सर्वसाधारण मारमा परेको भन्दै सवारीका साधनको भाडा वृद्धि रोक्न माग गरेको छ । यस्तै खाद्यान्न, तेलहन, दैनिक उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जीवन निर्वाहमा समस्या सिर्जना गरेको भन्दै अनियन्त्रित मूल्य वृद्धि रोक्न अनेरास्ववियुले माग गरेको हो ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र तुम्बापो, जिल्लाका संयोजक नारायण सुवेदी सहितको टोलीले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियुले ज्ञापन पत्रमा कोभिड–१९ का कारण विद्यालयहरु सञ्चालन नभइरहेको अवस्थामा समेत निजी विद्यालयहरुले अभिभावकहरुबाट शुल्क लिइरहेको पाइएको उक्त कार्य रोक्न माग गरेको छ ।

यस्तै लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालनमा आउँदा तोकिएको मापदण्ड बमोजिम विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने ब्यवस्थाका लागि पहल गर्न, स्वास्थ्य मापदण्डको पालना गरी शैक्षिक सत्र खेर नजाने गरी अध्ययन, अध्यापनको प्रवन्ध गर्न समेत उक्त संगठनले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्