वाल दिवसमा आवाशीय विद्यालयलाई सहयोग



फिदिम, २९ भदौ

राष्ट्रिय बाल दिवसको अवसरमा पाँचथरको फिदिम नगरपालिकाले फिदिम–४ स्थित आवाशीय विद्यालयलाई सहयोग गरेको छ ।

विपन्न परिवारका तथा सहाराविहीन २५ जना बालबालिका आवाशीय रुपमा अध्ययन गर्दै आएको फिदिम–४ स्थित जागृति आधारभूत विद्यालयको आवाश ब्यवस्थापनका लागि नगरपालिकाले लत्ता कपडा उपलब्ध गराएको छ । यस्तै यहाँ अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम सहितका शैक्षिक सामग्री वितरण गरिएको हो ।

मंगलबार उक्त विद्यालयमा आयोजित कार्यक्रममा फिदिम नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सर्मिला खापुङले ती सामग्री आवाशका विद्यार्थी तथा शिक्षकलाई हस्तान्तरण गर्नुभयो । फिदिम नगरपालिकाकै सहयोगमा सञ्चालित आवाशका लागि छ सेट सिरक, डस्ना, सिरानी लगायत सामग्री उपलब्ध गराइएको खापुङले जानकारी दिनुभयो । सो अवसरमा विद्यार्थीहरुलाई कापी, कलम लगायत शैक्षिक सामग्री सहित विस्कुट र मिठाई समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम लुइटेलले आवाशीय विद्यालयलाई धेरै कुराको आवश्यकता पर्ने भन्दै दाताहरुबाट निरन्तर सहयोग आवश्यक रहेको वताउनुभयो । कार्यक्रमका अध्यक्ष बाल क्लबका अध्यक्ष ल्हमु तामाङले आवाशका लागि आवश्यक सामग्री सहयोग गर्न माग गर्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा फिदिम–४ का वडा सदस्य सकुन्तला ओली लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्