संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपी सार्वजनिक



संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार संखुवासभाको चैनपुरमा पत्रकार सम्मेलन गरेर आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् ।

हत्या भएको पाँच दिनपछि प्रहरीले उम्लिङ घर भएका कार्कीलाई पक्राउ गरेको थियो । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका दिपेन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।

मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन् । हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् ।

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । भदौ २१ मा विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

हत्यालगत्तै आरोपीले चिर्पट जलाएका थिए

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्ने उद्देश्यका साथ चिर्पट बालेको पाइएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।

घटनामा संलग्न भनिएका आरोपी ३ पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए । घटनामा संलग्न आरोपीका अनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्