महासंघ शाखाको वेबसाइट शुभारम्भ, सबै सदस्यको दुर्घटना बीमा



फिदिम, २४ भदौ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले आफ्ना गतिविधिहरु सार्वजनिक गर्न छुट्टै वेबसाइट निर्माण गरेको छ ।

शाखाको वेबसाइट www.fnjpanchthar.org को विहीवार आयोजित कार्यक्रममा शुभारम्भ गरियो । शाखाको कार्यालयमा आयोजित कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले वेबसाइटको शुभारम्भ गर्नुभयो । महासंघका गतिविधि तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धीत सामग्रीहरु सम्प्रेषणका लागि शाखाले वेबसाइट निर्माण गरेको अध्यक्ष गिरिराज बाँस्कोटाले वताउनुभयो ।

महासंघ शाखाले शाखामा आवद्ध पत्रकारहरुको दुर्घटना बीमा समेत गरेको छ । शाखामा आवद्ध रहेका ८३ जना सदस्यहरुको अजोड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको हो । विहीवार आयोजित कार्यक्रममा अजोड इन्स्योरेन्स इलाम शाखाका प्रमुख टीकाराम पुरीले बीमाको पोलेसी शाखा अध्यक्ष बाँस्कोटालाई हस्तान्तरण गर्नुभयो । बीमाका लागि प्रिमियम रकम प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले उपलब्ध गराउनुभएको अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो ।

यस्तै शाखाले आगामी दुई वर्षलाई तालिम वर्षका रुपमा अगाडि बढाउने भएको छ । कार्यसमितिको बैठकको निर्णयअनुसार पत्रकारहरुको क्षमता विकास गरी प्रतिस्पर्धी पत्रकार उत्पादन गर्न विभिन्न विषयगत तालिम दिन लागिएको अध्यक्ष बाँस्कोटाको भनाई छ । महासंघलाई वास्तविक पत्रकारहरुको मात्रै संस्था बनाउने तथा सदस्यता शुद्धिकरण गर्ने अभियान चलाउने शाखाले योजना बनाएको जनाएको छ ।

वेबसाइट शुभारम्भ तथा भेटघाट कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष एवं महासंघ प्रदेश नं. १ प्रदेश कार्यसमितिका उपाध्यक्ष लवदेव ढुङ्गानाले पत्रकारिताको सम्वद्र्धनका क्षेत्रमा गरिने कार्यहरुको निरन्तरता चुनौतिपूर्ण हुने वताउनुभयो । विगतमा तालिमहरु आयोजना गर्दा निकै न्यून सहभागी हुँदा तालिमको औचित्य र प्रभावकारितामा प्रश्न उठेको भन्दै ढुङ्गानाले यस प्रकारको अवस्था दोहोरिन नदिन सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले महासंघ तथा पत्रकारका संघ संगठनहरुले पेशागत मर्यादाको पालना र क्षमता विकासमार्फत पत्रकार तथा सञ्चार क्षेत्रमाथि उठ्ने प्रश्नहरुको जवाफ दिन सल्लाह दिनुभयो । पत्रकारहरुले प्रवाह गर्ने सूचनाले समाजमा सकारात्मक सन्देश र सहि मार्गनिर्देश गर्नुपर्ने भएकाले महासंघलाई यस प्रकारका गतिविधिलाई ब्यवस्थित गर्न उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले आफू सहितले स्थापना गरेको वीपी सामुदायिक वनको जग्गालाई भवन निर्माणका लागि भोगाधिकार दिई महासंघ शाखालाई संस्थागत गर्न सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले फिदिम नगरपालिकाले वर्षेनि शाखाको कार्यसञ्चालनमा आर्थिक सहयोग गर्दै आएको वताउँदै शाखाले प्राप्त गरेका उपलब्धिका आधारमा थप नवीनतम कार्यहरु अगाडि बढाउनुपर्ने वताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक दानबहादुर थापा तथा सशस्त्र प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठको समेत उपस्थिति थियो । कार्यक्रममा शाखाका पूर्वअध्यक्षद्वय लक्ष्मी गौतम र लेखनाथ खतिवडाले समेत शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्