पठन संस्कृतिको विकासमा पुस्तकालय



तेह्रथुम, २४ भदौ

सामान्य ज्ञान लिन पनि किताब खरीद गर्नैपर्ने हुन्छ । आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरु किताब किन्न नसकेर अध्ययनमासमेत समस्या भइरहेको हुन्छन् । झन् ठूला ठूला पुस्तकहरु त अध्ययन गर्ने मौका नै पाएका हुँदैनन् । तर तेह्रथुमको लालीगुराँस नगरपालिकाले भने बसन्तपुर बजारमा तीनजुरे सिकाई केन्द्र स्थापना गरी धार्मिक, पुरात्विक,ऐतिहासिक तथा विभिन्न किसिमका पुस्तकहरु नि:शुल्क अध्ययन गर्ने वातावरण बनाएको छ ।

किताबी ज्ञानमात्र नभई बाहिरी ज्ञानसमेत लिन सकिनेगरी पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ पुस्ताकालय स्थापना गरिएको हो । विभिन्न विषयका पुस्तकहरु भए पनि जातजातिका पुस्तकहरु अध्ययन गर्ने क्रम बढ्दो रहेको पुस्तकालयका कर्मचारी लक्ष्मी पौडेलले बताइन् ।

बसन्तपुर बजारको केन्द्रमै रहेको पुस्तकालयमा प्राय कमै अध्ययनका लागि सेवा लिएको पाइन्छ । प्रविधिको विकाससँगै पुस्तकालय ओझेलमा परेको स्थानीय रवीकिरण मादेनको भनाइ छ । २०७६ मा प्रदेश नम्बर १ को उत्कृष्ट पुस्तकालय बन्दै पुरस्कृत भएको थियो । पुरस्कृत भएसँगै नगद २ लाख पुरस्कार प्राप्त गर्न सफल पुस्तकालय हो ।

प्रविधिको विकाससँगै अध्ययनमा कमी भइरहेकोले व्यवस्थित बनाउँदै अनलाइन अध्ययनको तयारी भइरहेको सिकाई केन्द्रका अध्यक्ष रामकृष्ण निरौलाले बताए । ‘इमेल इन्टरनेटको पहुँचको विकास भई रहँदा पुस्तकालयलाई प्रविधि सँगै जोड्दै सेवाप्रवाह गरिनु नागरिकको आवश्यकता देखिन्छ । प्रविधि विकास सँगै सेवा लिन सके घट्दै गएको पुस्तकालयको मोह बढदै जाने थियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्