पाँचथरका ११ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी



फिदिम, २३ भदौ

पाँचथरमा नेकपा (एमाले)बाट निर्वाचित ११ जना जनप्रतिनिधिहरुले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।

जिल्ला समन्वय समितिका सदस्य सन्तोष सिन्चेउरी सहित फालेलुङ गाउँ कार्यपालिका सदस्य रेणुका आङ्बो, कुम्मायक गाउँ कार्यपालिका सदस्य भक्तबहादुर विश्वकर्मा, कुम्मायक–२ का वडाध्यक्ष बालकृष्ण शेर्मा, फालेलुङ–१ का वडाध्यक्ष श्रीप्रसाद जबेगूले एकीकृत समाजवादीमा सनाखत गराएका हुन् । जिल्ला समन्वय समितिका सदस्य सिन्चेउरीका अनुसार सनाखत गर्ने अन्य जनप्रतिनिधि वडा सदस्यहरु छन् ।

जसमा फालेलुङ–१ का वडा सदस्यहरु तारा विश्वकर्मा र यमुना भण्डारी, फिदिम नगरपालिका–१२ का वडा सदस्यहरु नन्दिकेशर आचार्य र सर्मिला नेपाली, याङवरक गाउँपालिका–५ वडा सदस्य दुर्गाप्रसाद योङहाङ र हिलिहाङ गाउँपालिका–५ वडा सदस्य राजकुमार पन्थाक छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालय पाँचथरमा पुगी सनाखत गरेको जिल्ला समन्वय समितिका सदस्य सिन्चेउरीले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय पाँचथरले भने सनाखत भएका जनप्रतिनिधिवारे बिवरण सार्वजनिक गर्न नमिल्ने वताएको छ ।

पाँचथरमा एमालेबाट जिल्ला समन्वय समितिका प्रमुख र छ जना सदस्य, चार वटा गाउँपालिकामा अध्यक्ष र पाँच वटा गाउँपालिकामा उपाध्यक्ष तथा २९ वडामा वडाध्यक्ष विजयी भएका थिए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु भने सबै एमालेमै रहेका छन् । एमालेबाट एक जना प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्य निर्वाचित भएको पाँचथरमा प्रदेश सभा सदस्य गणेशकुमार काम्बाङ एकीकृत समाजवादीमा खुलेका छन् । मंगलबार एमाले पाँचथरको सचिवालय बैठक बसेको छ । उक्त बैठकमा २२ जना सचिवालय सदस्यहरु मध्ये १८ जना सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्