पहिलो सेवाग्राहीलाई सम्मान



फिदिम, २२ भदौ

निजामति सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय पाँचथरले आज सो कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ ।

छोरा भीमबहादुर तामाङको नागरिकताको प्रमाणपत्र बनाउन आज विहान १० बजे उक्त कार्यालयमा पुगेका पहिलो सेवाग्राही जिल्लाको हिलिहाङ गाउँपालिका–१ का चन्द्रबहादुर तामाङलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी एवं निजामति सेवा दिवस मूल समारोह समिति पाँचथरका संयोजक पुण्यप्रसाद ढकालले आज जिल्ला प्रशासन कार्यालय पाँचथरमा आयोजित कार्यक्रममा तामाङलाई खादा, माला र अविर लगाई सम्मान गर्नुभयो ।

“सरकारी तथा सार्वजनिक निकायले सेवाग्राहीहरुलाई सम्मानपूर्वक सेवा दिनुपर्छ भन्ने सन्देश दिन पहिलो सेवाग्राहीलाई सम्मान गरेका हौँ”, प्रजिअ ढकालले भन्नुभयो, “सार्वजनिक निकायका लागि सेवाग्राही नै सबैकुरा हुन भन्ने कुरा बुझ्नु र बुझाउनु जरुरी छ ।”

यस अवसरमा प्रजिअ ढकालले कार्यालयमा आएका सेवाग्राहीहरुलाई निजामति कर्मचारी तथा सेवाग्राहीको सुमधुर सम्बन्धले मात्रै सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुने भन्दै सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले सेवाग्राहीलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत कार्यले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, गुणस्तरीय र नागरिकमैत्री बनाउन मद्दत गर्ने वताउनुभयो ।

सोही अवसरमा जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने कार्यालयका सवारी चालक सन्तोष राईलाई समेत सम्मान गरेको छ । यस्तै जनसेवाश्री पदक पञ्चमबाट विभुषित सोही कार्यालयलका कार्यालय सहयोगी वेदनिधि खनाललाई प्रजिअ ढकालले विभुषण प्रदान गर्नुभयो ।

निजामति सेवा दिवसका अवसरमा पाँचथरका पाँच जना कर्मचारीहरुलाई पुरस्कृत गर्न लागिएको निजामति सेवा दिवस मूल समारोह समितिले जनाएको छ ।

यसरी पुरस्कृत हुने कर्मचारीहरुमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. इन्द्रनारायण शाह र विना काफ्ले, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सुरेश अधिकारी र जिल्ला हुलाक कार्यालय तथा जिल्ला कारागार कार्यालयका कार्यालय सहयोगीद्वय प्रमेश राई र महेश खनाल रहेका छन् । उत्कृष्ट कर्मचारी सम्मानका लागि छुट्टै कार्यक्रम गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्