
फिदिम, २१ भदौ ।
निजामति सेवा दिवसका अवसरमा आयोजित जिल्ला तहमा राष्ट्रसेवक कर्मचारी वृक्षारोपण कार्यक्रमको सोमवार फिदिममा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभएको छ ।
फिदिम–४ स्थित सुखबोध माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा वृक्षारोपण गरी नेम्वाङले उक्त अभियानको शुभारम्भ गर्नुभयो । १८औँ निजामति सेवा दिवसका अवसरमा तीन दिनसम्म चल्ने वृक्षारोपण सहितका कार्यक्रमको उक्त कार्यक्रबाट उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा विभिन्न सात प्रजातिका २०० वटा विरुवा रोपिएको जिल्ला तहमा राष्ट्रसेवक कर्मचारी वृक्षारोपण कार्यक्रमका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै पूर्वमन्त्री नेम्वाङले वातावरण संरक्षणका लागि गरिने यस प्रकारका अभियानको सुरुआतले सबैलाई सकारात्मक सन्देश दिने वताउनुभयो । उहाँले अन्य निकायहरुबाट समेत यस प्रकारका कार्यक्रम तथा अभियानहरु सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले वृक्षारोपण तथा वातावरणीय संरक्षणका क्षेत्रमा सबै निकायवीच सहकार्य हुन आवश्यक रहेको वताउनुभयो । कार्यक्रमका अध्यक्ष प्रजिअ ढकालले कर्मचारीहरुलाई समेत वातावरण र पर्यावरणका क्षेत्रमा जोड्न वृक्षारोपण अभियान प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाय तथा सरकारी निकायका प्रमुखहरु, नागरिक संघ संस्थाका प्रमुखहरु, फिदिम–१ का वडाध्यक्ष गजाधर भट्टराई सहित फिदिम–४ जोरसाल क्षेत्रका स्थानीयवासीहरु, सुखबोध माविका शिक्षक, अभिभावक लगायतको उपस्थिति थियो ।

