याङवरकमा ४० जना चिकित्सकको सहभागितामा निःशुल्क वृहत स्वास्थ्य शिविर हुँदै



फिदिम, २० भदौ ।

पाँचथरको याङवरक गाउँपालिकामा ४० जना विशेषज्ञ चिकित्सकहरुको सहभागितामा वृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

याङवरक–५ का तिलविक्रम योङहाङ र डा. दुर्गाप्रसाद न्यौपानेको संयोजनमा याङवरक–४ थर्पू स्थित थर्पू माध्यमिक विद्यालयमा यहि भदौ २६ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । कोभिड–१९ को सङ्क्रमण तथा निषेधाज्ञाका कारण अस्पताल पुगेर उपचार गर्न नपाएका तथा नसकेका यहाँका स्थानीयवासीलाई लक्षित गरी शिविर आयोजना गरिएको हो । याङवरक गाउँपालिकाको समेत सहभागितामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) धरानका विशेषज्ञ चिकित्सकहरुले शिविरमार्फत विरामीहरुलाई निःशुल्क सेवा दिन लागेका हुन् ।

उक्त शिविरमा विरामीले कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने शिवारका संयोजक डा. दुर्गाप्रसाद न्यौपानेले वताउनुभयो । उक्त शिविरमा इन्टरनल मेडिसिन फिजिसियन सेवा, सर्जरी (शल्यक्रिया) सेवा, स्त्री रोग, बालरोग, नाक कान घाँटीका रोग, यौन तथा छाला रोग, हाडजोर्नीका समस्या, मानसिक रोग, आँखाका रोग, दन्तरोगको उपचार सेवा तथा डेरियोलोजी र जेनेरल मेडिसिन सेवा सञ्चालन हुने डा. न्यौपानले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरको आयोजनामा दुई जना संयोजकहरु सहित याङवरक गाउँपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, स्थानीय स्वयंसेवकहरु, थर्पू माध्यमिक विद्यालय, पाँचथर उद्योग वाणिज्य संघ याङवरक थर्पू शाखा, स्थानीय स्वास्थ्य संस्थाहरु तथा निजी क्षेत्रबाट स्वास्थ्य सेवा दिँदै आएका चन्द्रमणि गौतम सहितका स्वास्थ्य ब्यवसायीहरु तथा सहयोगी स्थानीयवासीहरुको सम्लग्ना रहने शिविरका संयोजक तिलविक्रम योङहाङले वताउनुभयो ।

उक्त शिविरका लागि करीब रु. ५ लाख १० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । शिविरमा आउने सेवाग्राहीहरुलाई कुनै पनि शुल्क नलिइने आयोजकको भनाई छ । यस क्षेत्रका दुई हजार स्थानीयवासीलाई सेवा दिने लक्ष्यसहित शिविर आयोजना गरिएको हो । याङवरक–५ नै घर भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गर्नुभएका डा. न्यौपाने र विरामीका रुपमा सेवा लिन प्रतिष्ठान पुग्नुभएका योङहाङले लामो सरसल्लाहपछि उक्त क्षेत्रमा शिविर आयोजना गर्ने निश्कर्ष निकाली शिविरको तयारी गर्नुभएको हो ।

यस्तै यस स्वास्थ्य शिविरले यस क्षेत्रका स्थानीयवासीमा रहेका स्वास्थ्य समस्याहरुको पहिचान गरी ति समस्याहरुको निदानका लागि आवश्यक नीति तय गर्न, कार्यक्रम बनाउन तथा उपचारात्मक सेवालाई अगाडि बढाउन सरकारी निकायलाई सहयोग मिल्ने गरी आफूहरुले तथ्याङ्क तयार पार्ने डा. न्यौपानले वताउनुभयो । यस्तै अध्ययन तथा उपचारको राम्रो प्रवन्ध रहेको सरकारी स्वास्थ्य प्रतिष्ठान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रचार गरी सहज रुपमा स्वास्थ्य सेवा लिन आमनागरिकलाई मद्दत पु¥याउन समेत शिविर सफल हुने विश्वास लिइएको डा. न्यौपानेले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्