जहाँ माटो बिक्छ…



फिदिम, २० भदौ ।

फिदिम नगरपालिका–४ चारखम्बे पुगेपछि मेची राजमार्गको दायाँ–बायाँ माटोले भरिएका बोराहरु खात लगाएर राखिएका भेटिन्छन् । बोरासँगै बसेका मानिसहरु कोही विक्रीमा ब्यस्त हुन्छन् त कोही सडक माथिको पाखामा बोरामा माटो भरिरहेका हुन्छन् । यहि बाटो भएर पाँचथरका उत्तरी क्षेत्रहरु, ताप्लेजुङ र तेह्रथुमको पूर्वी भाग पुग्ने सवारीका साधनहरुमा माटो ‘लोड’ गरिन्छ । यात्रुहरुले पैसा तिर्छन्, कतिपय त सवारी चालकहरुले नै माटोको रकम तिरेर खरिद गरी ग्राहकसम्म पुर्‍याइदिन्छन् ।

यसरी माटोको खरिद विक्री हुन्छ र मानिसहरुले यहि कामलाई पेशा बनाइरहेका छन् भन्दा आश्चार्य लाग्न सक्छ । तर फिदिम–४ चारखम्बेदेखि तुम्देनचोकसम्मको सडकमा देखिने यो दृश्य यहाँका स्थानीयवासीको भने आम्दानी गर्ने माध्यम हो । चारखम्बे क्षेत्रमा मेची राजमार्ग माथि भित्तोमा रहेको रातो माटो गाढा रातो हुनुका साथै घर लिपपोत गर्दा आकर्षक देखिने हुनाले यसरी आकर्षक मूल्यमा विक्री भइरहेको हो ।

पहाडी क्षेत्रका ग्रामीण वस्तीका घरहरु ढुङ्गा र माटोको पर्खाल लगाएर निर्माण गरिन्छ । ढुङ्गा र माटोको पर्खालमा लिपपोतमा चुनढुङ्गा, कमेरो र रातो माटोको प्रयोग गरिन्छ । लिपपोत सहज बनाउन तथा घरको सुन्दरताका लागि भूईंतलाको पर्खालको भूईंतर्फको करीब एक तिहाई भागमा रातो माटो पोत्ने चलन अहिले पनि गाउँघरमा उत्तिकै छ । कतिपय घरका पर्खालहरु त पूरै रातोमाटोले पोत्ने चलन पनि छ । यहि प्रयोगका लागि यहाँ पाइने गाढा रातो माटो प्रख्यात हुँदै गएको हो । जसकारण यहाँका स्थानीयवासीले माटोको विक्री वितरणलाई पेशाकै रुपमा अङ्गालेका छन् ।

यहाँकी मीरा गुरुङ लावतीले रातो माटोको ब्यापार थालेको १० वर्ष हुन लाग्यो । उहाँको परिवारले दशैं अघि कामदार लगाएर माटो खन्ने तथा विक्री गर्ने काम गर्दै आएको छ । “प्रायः दशैंमा घर सजावटको काम हुने हुनाले दशैंअघिको एक महिना अत्यधिक विक्री हुन्छ”, लावतीले भन्नुभयो, “हामी यहि बेला अलिअलि माटो विक्री गरेर आम्दानी गर्छौँ ।” माटो विक्रीले दशैं मनाउन आर्थिक रुपले मद्दत गरेको उहाँको भनाई छ ।

आफ्नै जमिनबाट रातो माटो निस्कने भएकाले राम्रो मेहनत र ब्यापार गर्नसके आम्दानी पनि राम्रै हुने आधार रहेको अर्की जग्गाधनी रनमाया लावतीको भनाई छ । यहाँ आफ्नो जमिन नहुनेहरुले जमिन भाडामा लिएर रातो माटो निकालेर समेत विक्री गर्दै आएका छन् । दशैंअघिको समयमा बाहेक अन्य समयमा भने रातो माटो छिटफुट रुपमा मात्रै विक्री हुने गरेको छ । सडकसँगै घर हुनेहरुले छिटफुट रुपमा बाह्रै महिना माटो विक्री गरेर आम्दानी गर्ने गरेको स्थानीय जयन्द्र खवास बताउँछन् । यहाँको माटो प्रतिबोरा रु. ८० देखि रु. १०० सम्ममा विक्री हुने गरेको छ । प्रत्येक बोरामा २० देखि २५ किलोसम्म माटो उठाइन्छ ।

बाह्रै महिना नभएपनि वर्षमा केही समयका लागि भएपनि यहाँ माटो खन्ने, ढुङ्गा र माटो छुट्ट्याउने बोरामा भर्ने जस्ता काममा स्थानीयले रोजगारी पाएका छन् । फिदिम—४ तुम्देनचोकका २० वर्षीय दीप लावती शुक्रवार धमाधम माटोका बोरा सडकका भित्तामा मिलाएर राख्दै हुनुहुन्थ्यो । “दशैंअघि राम्रो विक्री हुन्छ । धेरै लैजानेलाई अलि सस्तोमा पनि दिन्छौँ”, लावतीले भन्नुभयो, “बर्खा सकिएपछि माटो खन्न, बोरामा भर्न र मिलाएर सडकको छेउ भित्तामा राख्न थाल्छौँ ।”

यहाँको माटो गाढा रातो हुनाले गाउँ—गाउँमा प्रख्यात भइसकेको छ । यद्यपि गत वर्ष लकडाउन र कोभिड—१९ को महामारीका कारण राजमार्गका यात्रुको चाप नहुँदा माटो अघिल्ला वर्षहरुमा जसरी विक्री नभएको रातो माटोको विक्री गर्दै आउनुभएका कृष्ण खवासको भनाई छ । “पहिले राम्रो विक्री हुन्थ्यो र जग्गाधनीलाई हामीले राम्रो पैसा दिन सक्थ्यौँ । अहिले विक्री कम छ”, खवासले भन्नुभयो । यस्तै माटो भर्नका लागि बजारमा बोरा नपाइने गरेको र बोराको मूल्य बढ्ने तथा माटोको मूल्य घटाउनुपर्ने हुनाले धेरै फाइदा भने हुन छाडेको माटोको विक्रीमा सम्लग्नहरुको भनाई छ ।

माटो विक्री बढेपछि यहाँ दैनिक १५ जनादेखि २५ जनासम्म स्थानीय माटो खन्ने, बोरामा हाल्ने र विक्री गर्ने काममा खटिन्छन् । यहाँका भित्तामा धेरै ढुङ्गा नरहेको र सजिलै माटो निकाल्न सकिने भएकाले विक्रेताहरुलाई सहज भएको छ । गाउँ—गाउँसम्म सवारीका साधन पुगेपछि टाढा पुगेर रातो माटो खोज्नुभन्दा तयार अवस्थामा रहेको माटो खरिद गर्न धेरैले रुचाउनाले माटोको विक्री बढेको हो । यहाँको माटोले लिपपोत गर्दा घर, आँगन आकर्षक देखिने हुनाले वर्षौँदेखि विक्री हुँदै आएको माटोको विक्रीमा सम्लग्न रनमाया लावती वताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्