५४ वर्ष अघिको गणतन्त्र चोक



फिदिम, १९ भदौ ।

निकै पुरानो जस्तो देखिने तस्वीरमा बाटोको दुवै तर्फ एक–एक वटा घर, ग्वाली र रुख विरुवाहरु देखिन्छन् । खरको छानोले छाइएका घरहरु दुई रङ्गको माटोबाट रङ्ग्याइएका छन् । बाटोमा दुई जना पुरुषहरु ओरालो लाग्दै गरेका देखिन्छन् । जसमध्ये एक जनाकाले छाता झुण्ड्याएका छन् । पारी पट्टि हरियो डाँडा र डाँडामा केही घरहरु देखिन्छन् ।

माथिको तस्वीरमा समेत देखिएको यो दृश्य अन्यत्र कहिँको नभई पाँचथरको सदरमुकाम फिदिम बजारको गणतन्त्र चोकको हो । किराँत धर्म दर्शन मुन्धुम, इतिहास र संस्कृतिका खोजकर्ता लक्ष्मण लावतीले खोज गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको फिदिम बजारको मुख्य चोक गणतन्त्र चोकको वि.सं. २०२४ सालमा लिइएको तस्वीर हो यो ।

५४ वर्षको अन्तरालमा गणतन्त्र चोकमा आमुल परिवर्तन आएको छ । अहिले घरहरुले चोक ढाकिएको छ । चारैतर्फ कालोपत्रे सडक बनेको छ । दोश्रो जनआन्दोलनका क्रममा गणतन्त्र पक्षधरले फिदिमको यस मुख्य चोकलाई ‘गणतन्त्र चोक’ नामाकरण गरेका थिए ।

अहिलेको गणतन्त्र चोक फिदिम ।

लावतीले फिदिमकै चारबरेको सोही समयमा लिइएको तस्वीर समेत सार्वजनिक गर्नुभएको छ । यहाँ सवारी गुड्न सक्ने सडक देखिन्छ । सडकको मुनिबाट खेतका गरा छन् । जहाँ मकै लगाइएको देख्न सकिन्छ ।

५४ वर्ष अघिको चारबरे ।

चारबरेको तस्वीरमा देखिएको फराकिलो बाटो वि.स. २०२० सालमा खनिएको र यो बाटो फिदिमबाट त्यस बेलाको पाँचथरको सदरमुकाम जोरसाल हुँदै थाक्लेसम्म पुगेको लावतीले खोजका क्रममा फेला पार्नुभएको छ । फिदिममा वि.सं. २०४२ मा मात्रै सडक आइपुगेको थियो ।

तर तस्वीरमा देखिएको सडक २०२० मै खनिएको थियो । त्यसबेला थाक्लेकै काशिनाथ खनाल पाँचथरका पञ्चायत अधिकारी र मानबहादुर जबेगु जिल्ला पञ्चायत सभापति रहेको समेत लावतीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । यस्तै यस बाटोमा सञ्चालन गर्न एउटा जीपका पार्टपूर्जाहरु बोकाएर ल्याई ओहोर–दोहोर गर्ने गरिएको थियो । ५४ वर्षमा चारबरे चोकमा पनि आमुल परिवर्तन आएको छ ।

अहिलेको चारबरे ।

(सबै तस्वीरहरु खोजकर्ता लावतीको फेसबुकबाट लिइएका हुन् ।)

प्रतिक्रिया दिनुहोस्