नेपाल र भारतले खेले १-१ गोलको बराबरी



काठमाडौं, १७ भदौ

नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन् । सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

नेपालको लागि अन्जन बिष्टले गोल गर्दा भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गरे । खेलमा अग्रता भने नेपालले बनायो । नेपालका अन्जन बिष्टले खेलको ३६ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । 

भारतका डिफेण्डर चिङ्लेन्साना सिङ कोन्साम  र गोलकिपर गुरप्रीत सिंहको समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् । दोस्रो हाफको ६१ मिनेटमा भारतका अनिरुद्ध थापाले खेल बराबरीमा पुर्‍याए । भारतका कप्तान सुनिल क्षेत्रीले प्रहार गरेको बल नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले पन्च गरे पनि गोल लाइनबाट अनिरुद्धले जाली चुमाएका हुन् । 

पहिलो हाफमा नेपालले गोलसँगै बल पोजिसनमा समेत पकड जमाएको थियो । भारतले पहिलो हाफमा कुनै पनि अवसर बनाउन सकेन । नेपालले भने दुई अवसर बनायो । यता, दोस्रो हाफमा भने भारतले सुरुवातमै तीन खेलाडी परिवर्तन गर्दै खेल आफ्नो नियन्त्रणमा लियो । बाँकी समयमा दुवै टोलीले अवसर बनाए पनि कुनै  गोल हुन सकेन । 

खेलमा नेपालका नितिन थापाले डेब्यु गरे । च्यासल क्लब र पोखरा थण्डर्सबाट खेलेका नितिनलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलको ८५ मिनेटमा तेज तामाङको स्थानमा मैदानमा पठाएका हुन् । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । 

प्रतिक्रिया दिनुहोस्