
फिदिम, १६ भदौ
प्रदेश नं. १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले स्वास्थ्यको क्षेत्रमा थप लगानी आवश्यक रहेको वताउनुभएको छ ।
कोभिड–१९ को महामारीसँग जुध्ने क्रममा स्वास्थ्य क्षेत्रको सवलीकरण जरुरी देखिएको भन्दै मन्त्री साम्सोहाङले सरकारी स्वास्थ्य संस्थाहरुमा प¥याप्त उपकरण र जनशक्तिको ब्यवस्था गर्नु आवश्यक रहेको वताउनुभयो । आज फिदिम स्थित पाँचथर जिल्ला अस्पतालको निरीक्षणपछि बोल्दै मन्त्री साम्सोहाङले प्रदेशको बजेट सिमित हुँदा स्वास्थ्य, शिक्षा लगायत अत्यावाश्यक क्षेत्रमा प¥याप्त लगानी गर्न नसकिएको वताउनुभयो । ठूलो क्षेत्राधिकार रहेको प्रदेश सरकारको बजेट भने सिमित हुँदा अपेक्षित परिणाम निस्कन नसकेको उहाँको भनाई छ ।
कोभिड–१९ को महामारीसँग जुध्न प्रदेश सरकारले सम्पूर्ण ध्यान लगाएको वताउँदै उहाँले सरकारी अस्पतालहरुले राम्रो सेवा दिएकै कारण धेरै सङ्क्रमितको ज्यान बचेको वताउनुभयो । “बजेट र जनशक्तिको सिमितताका बावजुत पनि प्रदेश सरकार मातहतका कोभिड अस्पतालहरुले दिएको सेवाले धेरैको ज्यान बचेको छ”, मन्त्री साम्सोहाङले भन्नुभयो, “प्रदेश सरकारले केही गरेन भन्नेहरुले यतातर्फ हेर्नुपर्छ ।” उहाँले सरकारी सेवालाई द्रूत र गुणस्तरीय बनाउन जनस्तरबाट उठेका मागहरुको सम्बोधनमा लाग्न सम्वद्ध निकायहरुलाई आग्रह गर्नुभयो ।
अस्पतालको निरीक्षणपछि आयोजित अन्तरक्रियामा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले १५ शैय्याको अनुमति लिई अहिले ४५ शैय्यामा विस्तार गरी सेवा दिइरहेको जिल्ला अस्पताललाई चाँडो भन्दा चाँडो ५० शैय्यामा स्तरोन्नति गर्न माग गर्नुभयो । जनशक्ति अभावकै कारण सघन उपचार कक्ष (आइसीयू) र भेण्टिलेटर प्रयोगविहीन भएको वताउँदै सापकोटाले सेवा क्षेत्र र सेवाग्राहीको चापका आधारमा जिल्ला अस्पतालको स्तरोन्नति जरुरी रहेको वताउनुभयो ।
जिल्ला अस्पतालका तथ्याङ्क अधिकृत नारायण जोशीले जिल्ला अस्पतालमा रहेको जनशक्ति र कोभिड अस्पतालका लागि सामग्रीको अभाव अन्त्य गर्नुपर्ने माग गर्नुभयो । औषत दैनिक १२ जनादेखि १८ जनासम्म सङ्क्रमित उपचारमा रहने कोभिड अस्पतालमा प¥याप्त सामग्री र जनशक्ति नहुँदा समस्या पर्ने गरेको जोशीले वताए ।
यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जिवकुमार यादवले केन्द्रको भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो मन्त्री साम्सोहाङसमक्ष राख्नुभयो । ताप्लेजुङबाट निर्वाचित साम्सोहाङ केही दिन अघिमात्रै प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको थियो । गृहजिल्ला ताप्लेजुङ जाने क्रममा मन्त्री साम्सोहाङले जिल्ला अस्पतालको निरीक्षण गर्नुभएको हो ।