
फिदिम, १५ भदौ
राष्ट्रिय युवा संघ पाँचथरका सचिव देवेन्द्र राईले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई खाद्यान्न, फलफूल र लत्ताकपडा वितरण गरेका छन् ।
राईले मंगलबार परेको आफ्नो जन्मदिनका अवसरमा फिदिम–२ डुम्रिबोटेमा स्थित जेष्ठ नागरिक आश्रम पुगी त्यहाँ रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न, फलफूल तथा एक–एक थान कपडा उपलब्ध गराएका हुन् । जन्मदिनमा गरिने खर्चबाट परिवारबाट अलग भई जीवनको अन्तिम समय गुजारिरहेका जेष्ठ नागरिकहरुलाई सहयोग पु¥याउने तथा एक दिन भएपनि मिठो खाने वातावरण बनाउन आफूले प्रयत्न गरेको राईले बताए ।
स–परिवार आश्रममा पुगी राईले जेष्ठ नागरिकहरुलाई फलफूल तथा लत्ताकपडा प्रदान गर्नुभयो । साथै जेष्ठ नागरिकको दैनिकीका लागि चामल, दाल लगायत खाद्यान्न आश्रम परिवारलाई हस्तान्तरण गरे ।
आश्रम स्थापना गरी सञ्चालन गरिरहेको सिद्धपोखरी सेवा सदनकी अध्यक्ष राधिका थापाले जन्मदिन लगायत उत्सवहरुमा परिवारबाट टाढा भई आश्रममा बसिरहेका जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने तथा आशिर्वाद लिने क्रमले समाजमा सकारात्मक सन्देश जाने र आश्रमलाई समेत सहयोग पुग्ने भन्दै धन्यवाद ज्ञापन गरिन । । आश्रममा १२ जना सहाराविहीन जेष्ठनागरिकहरु रहेका छन् ।
