मेस्सीद्वारा डेब्यु, उनी आउने निश्चित हुँदा थपिए १४ हजार दर्शक



एजेन्सीः फ्रान्सेली लिग वन क्लव पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका फरवार्ड लिओनेल मेस्सीले क्लबबाट डेब्यु खेल खेलेका छन् ।

आइतबार राइम्सविरुद्ध खेलका दौरान दोस्रो हाफको ६६ औं मिनेटमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । उनले राइम्सको मैदानमा उपस्थित घरेलु दर्शकसामु नेयामारको स्थान लिँदै पिएसजीबाट पहिलो खेल खेलेका हुन् ।

नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् । अर्जेन्टिनी फरवार्डले ३० नम्बरको जर्सी लगाएका थिए । खेलमा उपस्थित सबै दर्शक उठेर उनलाई सम्मान गरेका थिए । बार्सिलोना बाहेक अन्य टोलीबाट मेस्सी पहिलो पटक मैदान उत्रिएका हुन् ।

“उनी अझैपनि आफ्नो सर्वश्रेष्ठ फर्मबाट धेरै टाढा छन् । तर उनी राम्रो प्रशिक्षण गरिरहेका छन् । उनी अर्को दुई हप्तामा फिट हुनेछन्”, क्लबका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने “सबै दर्शकले उनका लागि हुटिङ्ग गरेको सुनेर राम्रो लाग्यो । हाम्रा समर्थकमात्र हैन, यो लियोले कमाएको कुरा हो” उनले थपे ।

मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट विक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सीले केहि समय मात्र खेलेपनि समर्थकहरु डेब्यु हेर्न पाए ।

राइम्सविरुद्धको खेलमा पीएसजीको २–० को जितमा दुवै गोल एमबाप्पेले गरेका थिए । पहिलो गोल १६ औं मिनेटमा एमबाप्पेले गरे । उनले डी मारियाको क्रसमा हेडरमार्फत जाली चुमाएका थिए । त्यस्तै, अर्को गोल ६३ औं मिनेटमा अक्रफ हकिमीको क्रसमा गरे ।

जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्स मात्र ३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

प्रतिक्रिया दिनुहोस्