११ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न



फिदिम, १३ भदौ

पूर्वाधार विकास कार्यालय पाँचथरले गत आर्थिक वर्ष २०७७/०७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।

झोलुङ्गे पुल अत्यावाश्यक देखिएका पाँचथर र ताप्लेजुङका विभिन्न स्थानहरुमा झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण भएकामध्ये दुई वटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् । बाँकी नौ वटामध्ये पाँचथरमा छ वटा तथा ताप्लेजुङमा तीन वटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।

दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला झोलुङ्गे पुल र यीनै दुई वडा जोड्ने ११९ मिटरको अर्को इवाखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।

यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा १२० मिटरको तमोर नदी झोलुङ्गे पुल फूलबारी आमबोटे, मैवाखोला गाउँपालिका–६ थुकिम्बा र मेरिङदेन गाउँपालिका–१ पाङ्लाबुङ जोड्ने ११५ मिटरको मैवाखोला झोलुङ्गे पुल र फक्ताङलुङ गाउँपालिकाको वडा नं. वडा नं. ५ र ६ लाई जोड्ने १२० मिटरको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै पाँचथरतर्फ फिदिम नगरपालिका वडा नं. ११ र १३ लाई जोड्ने ७३ मिटरको पञ्चमी झोलुङ्गे पुल, फिदिमकै वडा नं. ८ र १३ लाई जोड्ने ९६ मिटरको बोझेगरा टिम्मुरे झोलुङ्गे पुल, फिदिमकै वडा नं. १४ मा १२० मिटरको बाँस्बोटे सितलपाटी झोलुङ्गे पुल, फालेलुङ गाउँपालिका वडा नं. ३ मा ८१ मिटरको खेवा थानखोला पोक्नवा झोलुङ्गे पुल र मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा ९३ मिटरको सेङ्गेवा खोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

यी ११ वटै पुलहरु निर्माणका लागि रु. तीन करोड ८९ लाख १७ हजार बजेट विनियोजन भएकामा रु. तीन करोड ७३ लाख ४५ हजार रकम खर्च भएको पूर्वाधार विकास कार्यालय पाँचथरको तथ्याङ्क छ । झोलुङ्गे पुल निर्माण कार्यमा शतप्रतिशत भौतिक प्रगति भएको छ भने ९५.९६ प्रतिशत वित्तीय प्रगति भएको उक्त तथ्याङ्कले देखाएको छ ।

मानिसको नियमित आवत–जावत हुने क्षेत्रका खोला तथा खोल्सीहरुमा झोलुङ्गे पुल नहुँदा विशेषतः बर्खायाममा सर्वसाधारणले समस्या झेल्ने गरेका थिए । पाँचथरमा एक समय सिरिजङ्घा ग्रामीण विकास केन्द्रले तत्कालीन जिल्ला विकास समितिको कार्यालय सहितका निकायको सहयोगमा झोलुङ्गे पुल निर्माणको अगुवाई गरी सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्