स–परिवार कोरोना भाइरससँग लड्दा



राधा लुइटेल

साउन १२ गते विहान उठ्न केही असजिलो भइरहेको थियो । हल्का ढाड दुखाइसँगै पेट र टाउको दुखे जस्तो । मलाई महिनावारी हुने बेलामा यी लक्षणहरु देखाउने गरेकाले नियमित प्रकृया नै होला भनेर खासै वास्ता गरिन । विहानको खाना बनाएर स–परिवार साथमै बसेर खाँयौं । दिउसो अफिस गए, दिन बित्दै जाँदा जीउ झनभन्दा झन भारी हुन थाल्यो । हात खुट्टा करकरी खान थाले । जसो तसो दिनको जिम्मेवारी पूरा गरेर घर फर्केँ । अपरान्ह हल्का रुघाको लक्षण देखियो । खानापछि एउटा साइनेक्स लिएर सुतेँ । मध्यरातपछि हनहनी ज्वरो आउन थाल्यो । शरीरका सबै जोर्नी दुख्न थाले । यस्तै पीडा हुँदै र पटक–पटक कोल्टे फेर्दा उज्यालो भयो ।

सधै उठ्ने बेलामा शरीर उठेन, शरीरमा ज्वरो, सिमसिम पानीसँगै यदाकदा चराको चिरविर आवाज, सधँै यो बेला म उठेर केही नित्यकर्म पश्चात योगअभ्यासमा व्यस्त हुन्थे । आज भने नित्यकर्म समयमा अगाडि बढ्न सकिन । जसोतसो साढे ६ बजे उठेँ । ‘विहानै अस्पताल जानुपर्छ, घरमा कुराकानी भयो… । होइन कोभिडको संक्रमण बढेको छ परीक्षण पनि गराउनु पर्छ’ श्रीमानको सल्लाह थियो ।

अस्पतालमा बुझ्दा ‘दिँउसो १ बजे कोरोना परीक्षणका लागि स्वाब लिइन्छ त्यहि बेला आउँदा राम्रो हुन्छ । पोजिटिभ आए आइसोलेसनमा बस्ने नेगेटिभ आए स्वास्थ्य परीक्षण गराई औषधी लिएर जाने …’ सिनियर हेल्थ अशिष्टेन्थ उमेश शाहको सुझाव आयो । त्यहि अनुसार अपरान्ह १ बजे अस्पताल पुग्ने गरी घरबाट हिड्यौं । नाम दर्ता गर्ने, नियमित परीक्षण गराउने र कोरोना जचाँउनेहरुको भीड थियो ।

बल्लतल्ल साढे १ बजे स्वाब दिने पालो आयो । शरीरले थेग्नै नसक्ने ज्वरो आउनका साथै चक्कर लागि रहेकाले कठिन भइरहेको थियो । आफ्नै मोटरसाइकलमा डबल स्ट्याण्ड लगाएर बसें । नतिजाका लागि झण्डै आधा घण्टा कुर्नुपथ्र्यो । प्रायः लक्षण मिलेकाले रिपोर्ट पोजिटिभ नै आँउछ भन्ने एकमनमा लागि रहेको थियो भने अर्कोतर्फ डवल डोज खोप लगाएकी छु नेगेटिभ नै आउला भन्ने भ्रम पनि । यद्धपि पोजिटिभ नै आएपनि सहजै परास्त गर्न सक्छु भन्ने हिम्मत मसँग थियो ।

एन्टिजेन किटमा रिपोर्ट आउनासाथ सोधें सर ३८ नम्बर पोजिटिभ या निगेटिभ ? परीक्षणमा खट्नु भएका स्वास्थकर्मी सोम दंगालले भन्नुभयो ‘तपाईको पोजिटिभ छ, एकछिन पर्खनुस है हामी फाइनल रिपोर्ट तयार गर्छौ ।’ एकैछिनमा रिपोर्ट निगेटिभ आएकाहरुलाई घर फर्काइयो, हामी पोजिटिभ भएकाहरुको स्वास्थ परीक्षण र परामर्श दिने काम सुरु भयो ।

सन २०१९ को जनवरीमा चीनको बुहान प्रान्तमा कोरोना संक्रमणले धेरै मानिस बिरामी परेका र धेरै मरेका खवर आउन थालेका थिए । आफू सञ्चारकर्मी भएकाले कोरोना संक्रमणसम्वन्धी समाचार प्रकाशन–प्रसारणसँगै स्वास्थ्य सावधानीका लागि जनहितमा गरिने सन्देशहरु प्रशस्तै तयार गरिएको थियो । आखिर आज त्यो संक्रमण आफैंलाई पुष्टि भयो, अब सञ्चार माध्यमले प्रकाशन–प्रसारण गर्ने दैनिक समाचार सामग्रीमा हालसम्म नेपालका कुल कोरोना संक्रमितको संख्या मध्येकी म पनि एक हुँ, अर्थात त्यो डाटामा म पनि थपिएँ भन्ने लाग्यो ।

आखिर संक्रमण भइसक्यो अव स्वास्थ्य सावधानी अपनाउनका साथै निको हुनुको विकल्प छैन । तत्काल अक्सिजन लेवल हेर्दा ९५ थियो । स्वास्थ्य परीक्षण पश्चात केही पारासिटामोल दिएर होम आइसोलेसनका लागि प्रेसक्रिप्सन सहित अस्पतालले घर पठायो । अस्पताल जाँदा श्रीमानसँगै मोटरसाइकलमा गएका थियौं । मोटरसाइकलमै फर्कियौं । आधा बाटोमा आयुर्बेद स्वास्थ्य केन्द्र थियो । आहालगैरीदेखि पाँचथर क्याम्पस जाने सडककै छेउमा रहेकाले आयुर्बेद स्वास्थ्य केन्द्रमा औषधी लिन हामीलाई कठिन भएन । सडक तिरै फर्किएको आयुर्वेद स्वास्थकेन्द्रको रिसिप्सन अगाडी मोटरसाइकल रोकेर श्रीमानले त्यहाँका स्वास्थकर्मीलाई भन्नुभयो ‘कोरोना संक्रमितका लागि आवश्यक औषधीको प्याकेज दिनुस न ।’ कर्मचारीहरुले एकसाथ सोधे कस्लाई संक्रमण भयो ? ‘मोटरसाइकलबाट नओर्लिन मैले भने मलाइ नै हो ।’ स्वास्थकर्मीले झस्किए जस्तो गर्दै एक बट्टा औषधी ल्याएर राखिदिए, हामी त्यो टिपेर आफ्नो बाटो लाग्यौं ।

घर पुग्दा नानीहरुले सोधे मामु हजुरको रिपोर्ट के आयो ? हामीले एकैसाथ भन्यौं ‘पोजेटिभ छ अव सुरक्षित रहनु पर्छ, मामुको कोठामा नजाने है ।’ उनीहरुले अमिलो मुख लगाँउदै हुन्छको संकेत गर्दै टाउको हल्लाए । संयोग नै भन्नुपर्छ त्यहि दिन कक्षा ११ को परीक्षा हुने खबर पाएर भाइ मौसम घरबाट आइपुगेका रहेछन् । मौसम दाजुहरुसँग हाम्रै घरमा कोठा बस्ने विद्यार्थी हुन । एकाघरमा बस्ने परिवारको सदस्य सरहका मौसमलाई मैले आफूलाई कोरोना संक्रमण पुष्टि भएकाले केही दिन साथीसँगै बस्ने हो बस्न सुझाँए । एकैछिन घोरिएर सोचेपछि उनले भने ‘होइन बाहिर पढ्ने वातावरण हुँदैन, आखिर म तलको कोठामा बसेको छु तपाँइहरु माथि बस्नुहुन्छ डराउनु पर्दैन यहिँ बस्छु ।’

साँझ पर्दै गयो शरीरमा कम्पन सुरु भयो । जीउ भारी बन्दै गयो भने पसिनाका धाराले शरीर निथु्रक्कै भिज्न थाल्यो । डाक्टरबाट ज्वरो आँउदा पारासिटामोल खाने सल्लाह पाएकाले त्यसै गरें । साँझको खाना बाबा छोरी मिलेर तयार गर्नुभयो । साँझ सुत्ने बेलामा कान्छी छोरीले म सुत्न लागेको ढोकाबाट निन्याउरो अनुहार लगाउँदै चिहाइन । अब १० दिनपछि सँगै सुतौला है भन्नासाथ रसिला आखा पार्दै मुन्टो हल्लाएर समर्थन जनाइन ।

खानापछि बाफ लिएर सुतें । परिवारका सदस्य आसपासमै रहेपनि यसअघि कहिल्यै एउटा कोठामा एक्लै नसुतेकाले होला अलि शून्य महशुष भयो । मनमा अनेक तर्कनाले रात छिप्पिएपछि मात्रै निदाएँ । भोलिपल्ट व्युझँदा अलि धेरै खोकी लागिरहेको र टाउको दुखिरहेको थियो । उठेर चर्पी जान हिड्दा खुट्टा लर्बराए जस्तो, शरीर हुर्रिए जस्तो, कता–कता असहज भएजस्तो लाग्यो । दुःख सुख चर्पी गएर आएँ । यो बेला मेरा लागि नास्ता तयार भइसकेको थियो । भोक लागेपनि पर्याप्त रुचि भएन । दुःखले खाँए । अलि धेरै झर्को लागेजस्तो हुन थाल्यो ।

ज्वरो आउनासाथ औषधी लिन्थे । अब निन्द्रा पनि अचाक्ली लाग्न थाल्यो । उठेर बस्दा पनि उँग लाग्ने, सुतेपछि आँखा नै नहेरिने अनि सानो भन्दा सानो आवाजसँग पनि झर्को लागेजस्तो हुने, निदाएका बखत पूरै शरीरलाई खै के ले हो थिचेजस्तो हुने, डर लाग्दा सपना देख्ने अनि हात खुट्टा बाँउडिए जस्तो हुने ।

दोस्रो दिन साँझ श्रीमानलाई पनि रुघा लागेजस्तो भएछ । उहाँमा त्यो लक्षण थाहा पाउनासाथ छोरीहरु र मैले औषधी खान सुझायौं । पर्दैैन भन्नुभयो तर हामीले भन्नु अगाबै उहाँले २ वटा साइनेक्स खाइसक्नुभएको रहेछ । त्यो कुरा हामीले औषधी खान दबाब दिएपछि मात्रै सुनाउनुभयो ।

तेस्रो दिन विहान सम्ममा छोरी प्रकृतिको घाँटी दुखिसकेको थियो । उनलाई बर्षमा २ पटक टन्सिल हुन्छ । औषधी नखाई निको हुँदैन । साँझपख बाबासँगै अस्पताल गएर उनले पनि औषधी ल्याएर खान थालिन । औषधी सेवनसँगै उनको घाँटी दुख्न कम हुँदै गयो तर श्रीमान भने झनभन्दा झन सिथिल हुन थाल्नुभयो ।

उहाँलाई ज्वरोले पनि चापिसकेको थियो । जीउ दुख्ने लगायतका लक्षण देखिइसकेका थिए । यद्धपि म र छोरी दुबै जना बिरामी पर्नका साथै म आइसोलेट भइसकेकाले उहाँ स्वयमले खाना बनाउनको विकल्प थिएन । दुइवटा मास्क लगाएर खाना नास्ता पकाउँदै हामीलाई खुवाइरहनुभयो । मलाई कोरोना संक्रमण पुष्टि भएको कुरा जानकारी हामीले लगत्तै हामीसँग सम्पर्कमा रहेका मित्रहरु र कार्यालयलाइ गराइसकेका थियौं ।

पछिल्लो समय फेसबुक मार्फत स्वास्थ्य लाभको कामना गर्ने चलन बढेको छ । हुन त यसका सकरात्मक र नकरात्मक दुइवटै प्रभाव छन । हाम्रा नातेदार मध्ये धेरैजसो टाढा बसोबास गर्नुहुन्छ । टाढा रहेका आफन्त, इष्टमित्र, शुभेच्छुक र शुभचिन्तकले चिन्ता लिनुहुन्छ भनेर श्रीमानले साथीभाइलाई सामाजिक सञ्जाल मार्फत अस्वस्थताको जानकारी सार्वजनिक नगर्न भन्नुभएको रहेछ ।

त्यसो त टाइम लाइनमा पोष्ट भएका र ट्याग गरिएका सामग्री आफैंले एप्रु्रभ गर्ने सेटिङ मिलाइएकाले पनि म बिरामी भएको खवर सामाजिक सञ्जाल मार्फत तिब्र रुपमा फैलिन पाएको थिएन । मैले चाहिँ ज्वरो र टाउको दुखाइका कारण ६ दिनसम्म मोवाइल र कम्प्युटर जस्ता डिभाइस हेर्नै सकेकी थिइन । जिब्रोले पाउने स्वाद र नाकले लिने बास्ना सबै हराइसकेका थिए ।

सानी छोरी बेला बेलै मलिन अनुहार लगाएर मतिर आउन खोज्थिन । मैले हुँदैन भन्ने संकेत गरेपछि आँखामा आएका आशु आँखामै बिलाउदै मलाइ हसाउन त्यहिँ नाच्न थाल्थिन । श्रीमानलाई ५औँ दिनसम्ममा ज्वरो र जीउ दुख्ने समस्याले धेरै नै चापिसकेको थियो । छैठौँ दिन अस्पताल गएर परीक्षण गराँउदा उहाँमा पनि कोरोना संक्रमण पुष्टि भयो ।

सानी छोरी समृद्धिलाई भने त्यो बेलासम्म लक्षण देखाएको थिएन यद्धपि परिवारका ४ मध्ये ३ जनालाई लक्षण देखाउनका साथै २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आइसकेकाले उनलाई अछुतो राख्न सक्ने अवस्था थिएन । जबकि उनी आफँै खाना पकाएर खान सक्दिनन । श्रीमानमा संक्रमण पुष्टि भएपनि उहाँले भान्छाको काम छोड्नु भएन । बसेको वा सुतेको ठाँउदेखि उठ्न खोज्दा शरीरलाई कठिन भएको मेरा आँखाले झलझली देख्थेँ । राती ज्वरो आएर हँ हँ गरेको म प्रष्टसँग सुन्थे, आफुलाइ कठिन हुदाहुदै पनि ‘तिमीलाइ कस्तो छ ? भनेर सोधिरहनुहुन्थ्यो धेरै पटक ज्वरोको मात्रा घट्यो कि घटेन भन्दै मेरो निधार छाम्न आइपुग्नुहुन्थ्यो ।

दिउँसो अलि आराम जस्तो हुने र टाउको नदुखेकाले साँझपख एक डेढ घण्टा कम्युटरमै समय बिताउनुहुन्थ्यो । उहाँको त्यो अवस्था देख्दा मन थामिन छोड्यो । अब क्रमशः म पनि भान्छामा पसेर दुबैजनाले खाना बनाएर खान खुवाउन थाल्यौं । दशौं दिन सानी छोरीलाई पनि टाउको दुख्ने र ज्वरो आउने लक्षण देखियो । यद्यपि उनी भने २ दिनमै निको भइन तर बास्ना र स्वाद आउन भने समय लाग्यो ।

एकसातासम्म मलाई मोवाइल कम्प्युटर हेर्नै मन लागेन । आठौं दिनदेखि पुस्तक पढ्ने र कोरोना कालका अनुभव समेटेर डायरीमा दैनिकी लेख्ने कोशिष गर्न थालेँ । यो क्रम सत्रौं दिनसम्म जारी रह्यो, त्यो बेलासम्म मैले बिभिन्न विधाका ३ वटा पुस्तक पढ्नुका साथै केही कविता र यो लेख तयार गरेँ । नियमित गर्ने योग अभ्यासका सबै बिधा गर्न सक्ने अवस्था थिएन । हात खुट्टाको सुक्ष्म ब्यायामसँगै प्राणायामलाई साँझ साढे चारबजेदेखि निरन्तरता दिने कोशिष गर्न थालें ।

कोरोना संक्रमण पुष्टि भएपछि घरमा बस्नुको विकल्प थिएन । हाम्रा लागि यसअघि कोरोना संक्रमण भएर निको हुनुभएका व्यक्तित्वहरुको अनुभव कोरोना जित्ने कोशेढुंगा सावित भयो । ज जस्ले कोरोना जितिसक्नुभएको थियो उहाँहरुले हामीलाई भर्चुअल र फोनकै माध्यमबाट पनि निरन्तर सुझाव दिनुहुन्थ्यो । त्योसँगै दैनिक जसो फोन गर्ने मित्रजन र आफन्तजनको हौसला कदापि भुल्न सक्दिन ।

महामारीको समयमा त्यो पनि कोरोना संक्रमित भएर बसेका हामीलाई आवश्यक सामग्री घरसम्म ल्याएर सहयोग गर्नुहुने व्यक्तित्वप्रति ऋणी छौं । उहाँहरुकै साथ सहयोग र हौसलासँगै करिब २ साताको बसाइपछि केही सन्चो भएको महशुष गर्दै १८ औं दिनदेखि म काममा फर्किएँ । आज २८ दिन बित्न लाग्दासम्म पनि म पूर्ण रुपमा स्वस्थ भने भएकी छैन । बेला बेला टाउको दुख्ने, रिँगटा लाग्ने कमजोरी महशुससँगै खानामा अरुचि जस्ता लक्षण दोहोरिरहन्छन ।

कोरोना संक्रमण भएपश्चात सुरक्षित भएर बस्ने, खानपान र सरसफाइमा विशेष ध्यान पु¥याउने, प्राय पौष्टिकयुक्त, पोषिलो र झोलिलो खानेकुरा खाने, नियमित बाफ लिने सकरात्मक उर्जा मिल्ने पुस्तक पढ्ने र सकिन्छ भने सकारात्मक उर्जा दिने सामाग्री हेर्ने, योग साधना र प्राणायम गर्ने आदी कुरालाई ध्यान दिने हो भने कोरोना जित्न मदत पुग्छ भन्ने अनुभव हासिल गरेकी छु ।

मैले सिमालीको पात, पहेलो लहरा, तितेपाती, अम्बाको पात र ज्वानोको बाफ नियमित लिएँ । खानामा भेजिटेवल सुप, मसरुम सुप, पनिर, गेडागुडी र कोदोको सुप, फापरको रोटी, काजु, बदाम, हर्लिक्स, च्वावनप्रास, तुलसी र गुर्जोयुक्त उमालेको पानी आदी मात्रा मिलाएर खाएँ । तरकारीमा हरियो सागसब्जिसँगै रेसादार खानेकुरामै जोड दिएँ । ती खानेकुरा मेरा लागि कोरोना पराजित गर्ने खुराक बने ।

कोरोना संक्रमण भएर आइसोलेसनमा बस्दा बाल्यकालदेखिका स्मरण दोहोरिइरहे । सबै आफन्तहरुको धेरै याद आइरहने । सपनामा केही कठिन यात्रा गर्नु परेका दृश्यहरु देखिए । संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिहरुको सम्झना आयो । एकपटक चाँहि प्लाष्टिकमा पोको परेर घाट गएको कल्पना पनि गरेँछु । लगत्तै मेरो मस्तिष्कले त्यो नकारात्मक स्मरणलाई निकै टाढा हुत्याइदियो ।

पहिलो पटक कोरोना संक्रमण भएका व्यक्तिहरु घर बस्न पाउदैनथे, लक्षण होस वा नहोस पोजेटिभ रिपोर्ट आउनासाथ हुइकिएर एम्वुलेन्स लिन आउथ्यो । मोरङको गोठगाँउ वा विराटनगर पु¥याउथ्यो । आइसोलेसनमा रहँदा संक्रमितहरुले उचित परामर्श र उपचार नपाएर ज्यान गुमाएका खबर पनि नआएका होइनन् ।

दोस्रो भेरियन्ट कडा लक्षण सहितको भएपनि मैले टाढा जान परेन । परिवारको रेखदेख र माया ममता सहित घरैमा बस्न पाइयो । यो अर्थमा हामी भाग्मानी छौं । दोस्रो भेरियन्टमा पनि अस्पताल भर्ना भएका बिरामीलाई होम आइसोलेसनमा बस्न भन्दा कठिन छ, जिल्ला बाहिर उपचार गराउन गएका धेरैले ज्यान गुमाइसकेका छन् । संक्रमित भएका बखत आउने नकारात्मक कुरालाई भने मस्तिष्कसम्म प्रवेश नै गर्न दिनु हुन्न मायता अघि सारेँ ।

नेपालीमा एउटा उखान छ ‘आकाशको राहु पत्तालको केतु, एकपल्ट नपरी कसरी चेतुँ ?’ मेरा लागि कोरोना संक्रमण यस्तै भयो । ज–जस्ले यसअघि कोरोना जितिसक्नु भएको थियो, उहाँहरुले आफ्ना अनुभव सहित बारम्बार फोन गरेर स्वास्थ्य अवस्था बुझ्दै कोरोना जित्ने टिप्स दिनुभयो । असहज परिस्थितिमा हामीलाई कोभिडसँग लड्ने दिनचर्या सहज बनाउन सहयोग गर्नुभयो । उहाँहरुको नाम नलिँदा सायद त्यो भन्दा ठूलो अन्याय केही हुँदैन ।

सञ्चारकर्मी बहिनी दुर्गा खनाल घिमिरे जो म भन्दा केहिदिन अगाबै संक्रमित भएकी थिइन । ओछ्यानबाटै अनुभव बाँड्दै मलाई निरन्तर कोरोना जित्ने टिप्स दिँदै चासो र चिन्ता व्यक्त गरिरहिन । भाइहरु मौसम जवेगू, पवन जवेगू र मनिष कँडेल जस्ले निरन्तर दैनिक उपभोग्य बस्तु हाम्रो किचनसम्म पु¥याउन सहयोग गरे । नेपाल प्रेस युनियन पाँचथरका निवर्तमान अध्यक्ष भीमकुमार बाँस्कोटा, पत्रकार महासंघ पाँचथरका पूर्वउपाध्यक्ष विजयबोध लावतीसँगै छिमेकी बहिनी विनिता नुगो र फिदिम १ निवासी दिदी दिलु घिमिरे जसले पटक पटक स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै टाढा टाढाबाट पौष्टिक तत्वयुक्त खानेकुरा घरसम्मै ल्याएर सहयोग गर्नुभयो । जन्मदिने आमा र पिताजीसँगै कर्मदिने बुवा जस्ले साँझ बिहान फोन गर्दै निरन्तर स्वास्थ अवस्थावारे चिन्ता लिँदै उत्प्रेरण दिइरहनुभयो ।

नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व सभापति एवं गोरखापत्र सस्थानका सञ्चालक समिति सदस्य कृष्ण ओझा, रेडियो मितेरीका स्टेशन म्यानेजर खबिन लुइटेल, नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे, उपाध्यक्ष हिमा चेम्जोङ, पाँचथर अध्यक्ष गिरिराज बाँस्कोटा, जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी, पतञ्जली योग समिति केन्द्रीय सदस्य शान्ता गौतम, पाँचथर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मित्रप्रसाद काफ्ले, वर्तमान कार्यसमितिका महासचिव नवराज घिमिरे, महासंघ पाँचथर सहसचिव ज्ञानु घिमिरे, सदस्य शंकर चापागाई, सञ्चारकर्मी बिनु, घनेन्द्र, दाजु रमेश शुभेच्छु, भाउजू गीता भाइहरु दिनेश र मोहन, दिदीहरु सीता र गंगा, बहिनीहरु देबु, सजना, देशु र मेडम बिना काफ्ले सहित समस्त अविभावक र मान्यजन जसले निरन्तर हाम्रो स्वास्थ्य अवस्थाप्रति चासो र चिन्ता व्यक्त गर्दै हौसला प्रदान गर्नुभयो । यहाँहरुलाई पनि कदापि भुल्ने छैन ।

संक्रमित भएका बखत घरैमा आएर हिम्मत बढाइदिनुहुने दाई बासु घिमिरे, भाउजु विद्यालक्ष्मी, भाइहरु विमल, सुभाष र कृष्ण, दाजु लालबहादुर, मित्रहरु भीम, खबिन, गिरिराज, दिपक बोहोरा, तरुणदल अध्यक्ष सुमन लामा र अविभावक उर्मिला तपाइहरु सबै धन्यबादको पात्र हुनुहुन्छ ।आफू अस्वस्थ भएका बखत अहोरात्र खटेर पनि मेरो जिम्मेवारी सम्हाल्दै सहयोग गर्नुहुने प्रिय संस्था रेडियो मितेरीका सहकर्मीहरु ज्योति भण्डारी, गजेन्द्र तुम्बापो, सुस्मा हाङसरुम्वा, प्रिय योङहाङ, निराजन निरौला र प्रिती भट्टराईप्रति आभार प्रकट गर्दछु ।

कोरोना संक्रमित भएका बखत स्वास्थकर्मीको परामर्शमा म्यासेन्जर ग्रुप मार्फत जुटाउनुहुने अधिकारकर्मी मंगल बेघा पनि धन्यवादको पात्र हुनुहुन्छ । यस्तै निरन्तर स्वास्थ परामर्श दिनुहुने पाँचथर अस्पतालका डाक्टर बरुण अग्रवाल, सिनियर अहेव उमेश साह, सोम दंगाल र दिपक खत्रीको गुन कहिल्यै बिर्सने छैन ।

अरु पनि लेख्न बिषय धेरै छन्, तर यहाँ सबैकुरा उल्लेख गर्न उपयुक्त ठानिन । आफू संक्रमित हुँदा यस अगाबै संक्रमणमुक्त हुनुभएका आदरणीय व्यक्तित्वहरुबाट उपयोगी शिक्षा हासिल गरेकी छु । ती सकरात्मक प्रेरणा व्यवहारमा उर्तान मेरो हरदम प्रयत्न रहनेछ । साथीभाइ इष्ट मित्रबाट ग्रहण गरेका सबैखाले अनुभूतिलाइ कम आक्ने छैन । कोरोना रुपि यस महामारीबाट जो जति संक्रमित भयौं । ज–जस्ले परिवारका सदस्य गुमायौं अब उप्रान्त यो महामारीले कसैलाई छुन नसकोस मेरो कामनासँगै प्रार्थना छ ।। हट कोरोना हट ।।। (प्रतिक्रियाका लागिः [email protected])

प्रतिक्रिया दिनुहोस्