श्रीमतीको हत्यापछि आफैँद्वारा आत्महत्या



फिदिम । भोजपुर षडानन्द नगरपालिका–९ तालखर्क का ४० बर्षीय वुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफूले झुन्डिएर आत्महत्या गरेका छन् ।

आज बिहानको राती साढे १ बजे राईले आफ्नी श्रीमती २८ बर्षीया इन्द्रकला राईलाई खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् ।

आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुका ८ बर्षीय छोराले छिमेकीहरुलाई खबर गरेका थिए । घटनाको बारेमा जानकारी पाउनासाथ छिमेकीहरु घटनास्थल पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको र वुद्धिमानको खोजतालस गर्दा झुन्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट प्रहरी टोली खटिई थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्