ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री



फिदिम । २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसदले मन्त्री बन्ने अवसर पाएका छन्।

प्रतिनिधिसमा निर्वाचित नेकपा (एमाले) सचिवसमेत रहेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले संघीय सरकारको पर्यटन मन्त्रीको जिम्मेवारी त्यागेको केही समयपछि नै प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी टंक आङबुहाङले पाए।

उनी ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख)बाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन नेकपा (माआवादी केन्द्र) को तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। पछि उनी माआवादी केन्द्र त्याग गरी नेकपा एमाले प्रवेश गर्दै प्रदेश अर्थमन्त्री बनेका थिए।

आङबुहाङ नेतृत्वको सरकार परिवर्तन भई भीम आचार्य प्रदेश नं. १ को मुख्यमन्त्री बनेपछि बलबहादुर साम्सोहाङ प्रदेश १ सकारको सामाजिक विकास मन्त्री भएका छन्। उनी ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (क) बाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रदेशसभामा नेकपा (एमाले)बाट निर्वाचित भएका हुन्। प्रतिनिधिसभामा १ र प्रदेशसभामा दुइ निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित ३ जनाले नै मन्त्री बन्ने अवसर पाएका छन्।

टंक आङबुहाङ कुनै बेला माओवादी अध्यक्ष प्रचण्डका निकै विश्वास पात्रको रुपमा परिचित थिए। माओवादी नेता बर्षमान पुनका बहिनी ज्वाइँ नाता पर्ने आङबुहाङ २०६३ सालमा बनेको अन्तरिम व्यवस्थापिका संसद सदस्यसमेत रहेका थिए। २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा ताप्लेजुङको निर्वाचन क्षेत्र नं २ बाट पराजित भएपनि २०७४ सालको प्रदेशसभाको निर्वाचनमा तत्कालिन बाम गठबन्धन उम्मेदवार आङबुहाङ प्रदेशसभा सदस्यमा निर्वाचित भए।

उनी माओवादी केन्द्रकोतर्फबाट नेतृत्व गर्दै प्रदेश सरकारमा मुख्यमन्त्री पछिको प्रमुख पदमा जान चाहन्थे। तर पार्टीले यो अवसर पाँचथरबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्र आङवोलाई दियो। माओवादी केन्द्र संसदीय दलको नेता भएपनि आङबुहाङले अरु अवसर पाएनन्।

माओवादीभित्र आङवोभन्दा आङबुहाङ सिनियर नेता हुन । तर कुनै बेला रामबहादुर थापा निकट मानिएका आङ्वोले अवसर लिएर शेरधन राई मुख्यमन्त्री भएका बेला प्रदेश अर्थमन्त्रीको पद सम्हाले । नेपाल एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको पार्टी नेपाल कम्युनिट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले अलग–अलग पार्टीको रुपमा रहने गरी निर्णय गरेसँगै आङबुहाङ नेकपा एमालेतर्फ लागे।

एमाले बनेका उनलाई मुख्यमन्त्री राईले प्रदेश अर्थमन्त्रीमा नियुक्त गरे। आङबुहाङले चालू आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश १ सरकारको बजेट, नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेका थिए। माओवादी केन्द्रमा रहँदा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका आङवुहाङ अहिले नेकपा एमालेका केन्द्रीय सदस्य छन्। एमालेमा गएपछि माओवादी केन्द्रले कारवाही गरेका कारण उनी सांसद भने छैनन्।

शुक्रबारमात्र प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका साम्सोहाङ कुनै समय तत्कालिन एमाले नेता माधवकुमार नेपाल निकट थिए। उनले आफूलाई नेपाल पक्षको भनेर खुल्ला रुपले प्रस्तुत पनि गर्ने गरेका थिए।

एमाले भित्रको आन्तरिक संघर्ष पार्टी विभाजनसम्म पुगे पनि योगेशकुमार भट्टराई र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य सहितका नेता एमालेमै रहेपछि साम्सोहाङ पनि माधवको पक्षमा खुलेनन्। आचार्यको मन्त्री मण्डलमा उनी सामाजिक विकास मन्त्री भए। अब उनी एमाले सचिव आचार्यले नेतृत्व गरेको प्रदेश सरकारको मन्त्रीमण्डलका सदस्य भएका छन्। (नागरिक न्यूजबाट साभार)

प्रतिक्रिया दिनुहोस्