हिलिहाङ दरबार परिसरमा वृक्षारोपण



फिदिम, ११ भदौ

पाँचथरको हिलिहाङ गाउँपालिकास्थित हिलिहाङ दरबार परिसरमा वृक्षारोपण गरिएको छ ।

प्रदेश वृक्षारोपण वर्ष २०७८ का अवसरमा नेपाली सेनाको फिदिम स्थित रणशेर गणले उक्त क्षेत्रमा वृक्षारोपण अभियान चलाएको हो । हिलिहाङ गाउँपालिकाको सहयोगमा बिहीवार आयोजित वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल, गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेन सहित सुरक्षा निकायका प्रमुखहरु, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, दरबार क्षेत्र संरक्षण समितिका पदाधिकारीहरु लगायत सहभागी भए । सहभागीहरुले दरबार परिसरमा रहेको हिलिहाङको शालिक आसपासमा वृक्षारोपण गरेका थिए ।

पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको हिलिहाङ दरबार क्षेत्रको वातावरण संरक्षण तथा पर्यटकको आकर्षण हुने बिरुवाहरु रोपिएको हिलिहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बूले जानकारी दिनुभयो । उक्त क्षेत्रमा अमला, कल्कीफूल, अम्बा, तेजपत्ता, टिम्बुर, जैफूल, कुरिलो, धुपीसल्ला, सल्लो, चिउरी, चाँप, बडहर, मसला र कपुरका ५७७ वटा बिरुवा रोपिएको हो । लामो समयको संरक्षणअभाव पछि संरचनाहरु निर्माण थालिएको दरबार क्षेत्रको सुन्दरता बढाउन रोपण गरिएका बिरुवाहरुले मद्दत गर्ने प्रमुख प्रशासकीय अधिकृत लिम्बूको भनाई छ ।

वृक्षारोपणअघि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले नेपाली सेनाले नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउन तथा पुरातात्विक क्षेत्रको संरक्षणमा जुट्न उक्त अभियानले मद्दत गरेको वताउनुभयो । उहाँले दरबार क्षेत्रलाई पर्यटकको आकर्षण वृद्धि गर्न थप लगानी र प्रचार–प्रसार आवश्यक रहेको वताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले वृक्षारोपण अभियानलाई सुक्खाबाट प्रभावित क्षेत्रमा समेत सञ्चालन गर्न सुझाव दिनुभयो । प्रजिअ ढकालले हिलिहाङ दरबार क्षेत्रको ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक महत्वको जगेर्ना गर्दै पर्यटन विकासमार्फत स्थानीयवासीको आर्थिक समृद्धिका लागि सरोकारवालाहरु निरन्तर सक्रिय र प्रयत्नशील रहनुपर्नेमा जोड दिनुभयो ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले दरबार क्षेत्रको विकास र संरक्षणको कार्य स्थानीय तह निर्माणपछि मात्रै अगाडि बढेको भन्दै यहाँको पर्यटन विकासलाई गाउँपालिकाले प्रमुख एजेण्डा बनाई अगाडि बढाएको वताउनुभयो । कार्यक्रममा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल सहित विभिन्न सरकारी निकायका प्रतिनिधिहरु, हिलिहाङ दरबार क्षेत्र संरक्षणमा सक्रिय स्थानीयवासीहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्