एमाले ताप्लेजुङ र तेह्रथुमका अध्यक्ष एकसाथ बने मन्त्री



फिदिम । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद्‍मा २ जना मन्त्री थपेका छन् ।

आचार्यले ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ र तेह्रथुमबाट निर्वाचित प्रदेशसभा सदस्य लछुमन तिवारीलाई मन्त्री नियुक्त गरेका हुन् । दुवै नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । साम्सोहाङ प्रदेशको सामाजिक विकास मन्त्री बनेका छन् भने तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

दुवै प्रदेशसभा सदस्यहरु यसअघि नेकपा (एमाले)को माधवकुमार नेपाल समूहमा थिए । तर नेपालले नयाँ दल दर्ता गरेपछि उनीहरु एमालेमै रहेका थिए ।

साम्सोहाङ र तिवारी एमालेका निर्वाचित जिल्ला अध्यक्ष समेत हुन् । नेपाल समूहमा आवद्ध भएपछि एमालेले दुवै जिल्लामा नयाँ अध्यक्ष बनाएपनि पछिल्लो समझदारीअनुसार एमालेभित्रको १० बुँदे सहमति कार्यान्वयनसँगै उनीहरु पुनः एमालेको अध्यक्ष पुनःस्थापित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्