माओवादी केन्द्रको प्रदेशमा इन्चार्ज कार्की, जिल्लामा आङ्बो



फिदिम । नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं. १ का १४ जिल्लाकै इन्चार्जको टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रदेशमा सचिव बाहेकका सबै पदाधिकारी समेत चयन गरेको छ ।

जसअनुसार सुरेन्द्र कार्की (राम कार्की) माओवादी केन्द्रको प्रदेश इन्चार्ज बनेका छन् भने सहइन्चार्जमा सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशीला चापागाईं, अजम्बर काङमाङ छन् । यस्तै माओवादी केन्द्र प्रदेशको अध्यक्षमा सुरेशकुमार राई छन् । राई विगठित नेकपाको प्रदेश सचिव थिए ।

माओवादी केन्द्रले प्रदेश नं. १ का १४ वटै जिल्लाको इन्चार्ज पनि तोकेको छ । जसअनुसार पाँचथरको इन्चार्जमा प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो चयन भएका छन् । यस्तै ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, इलाममा धीरेन्द्र शर्मा, झापामा धर्मशीला चापागाईं, मोरङमा गोपीबहादुर अछामी, सुनरीमा एकचन्द्र बराल, धनकुटामा हेमराज भण्डारी, तेह्रथुममा दुर्गाप्रसाद चापागाईं, संखुवासभामा राजेन्द्र कार्की, भोजपुरमा सुदन राई किराँती, खोटाङमा समिता कार्की, सोलुखुम्बुमा हेमकुमार राई, ओखलढुंगामा बाबुराम गौतम र उदयपुरमा सुरेशकुमार राई इन्चार्ज बनेका छन् ।

यस्तै माओवादी केन्द्रले विराटनगर महानगरपालिकाको इन्चार्जमा शिवकुमार मण्डल र प्रदेश १ सम्पर्क समितिमा शिव बस्नेतलाई जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्य भएका जिल्लामा केन्द्रीय सदस्यलाई र नभएका जिल्लामा केन्द्रीय प्रतिनिधिलाई इन्चार्ज बनाइएको हो ।

माओवादी केन्द्रले सबै स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुको दल गठन गर्नुपर्ने, पार्टीले सम्बन्धीत दलमार्फत स्थानीय सरकारहरुलाई निर्देशन र परिचालन गर्ने, एकता प्रक्रियाका क्रममा पार्टीमा समावेश भएका वा पार्टीमा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टीमा आवद्ध गर्ने र जिम्मेवारी दिने कामलाई पूर्णता दिने पनि तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्