
फिदिम । प्रदेश नं. १ को मुख्यमन्त्रीमा भीम प्रसाद आचार्य नियुक्त भएका छन् ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा नेकपा (एमाले) प्रदेशसभा संसदीय दलको नेता बनेका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् ।
बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए ।
मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएपछि राईले राजीनामा बुझाए । राईले राजीनामा बुझाएलगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री आचार्यले प्रदेश सुशासन र सेवा प्रवाहका सम्बन्धी निर्णयमा पहिलो हस्ताक्षर गरेको प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।
९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन । यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले भने प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गरेका छन् ।
बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका आचार्यले भने, “लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पुर्याउँछौं ।” उनले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने समेत बताए ।