बजेट अभावले मुख्यमन्त्री ग्रामीण सडक आयोजनाअन्तर्गतका सडकहरु अलपत्र



फिदिम, ७ भदौ

बजेट अभाव हुँदा मुख्यमन्त्री ग्रामीण सडक आयोजनाअन्तर्गत निर्माण थालिएका सडकहरु अलपत्र बनेका छन् ।

आयोजनाअन्तर्गत जिल्लामा चार वटा सडकहरुको आर्थिक वर्ष २०७६/०७७ बाट ट्र्याक खोल्न थालिएको थियो । तर गत आ.व. ०७७/०७८ मा बजेट विनियोजन नहुँदा सडकहरु अलपत्र बनेका हुन् । आयोजनाअन्तर्गत चार वटा सडकमा गत आ.व.मा निर्माणको कुनै पनि कार्य हुन सकेन् । सोभन्दा अघिल्लो आ.व.मा गरिएको निर्माणको केही भुक्तानी भने उपलब्ध गराइएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।

आयोजनाअन्तर्गत पाँचथरमा हेंवा खोला कोरिडोर, निबु खोला कोरिडोर, नांवा खोला कोरिडोर र मध्यपहाडी लोकमार्ग–तिम्बु पोखरी सडक निर्माण थालिएको थियो । पूर्वाधार विकास कार्यालय पाँचथरको वार्षिक प्रगति प्रतिवेदनअनुसार यी चारवटै सडकमा गत आ.व.मा निर्माणको कुनै पनि कार्य हुन सकेन । ट्र्याक खोल्न थालिएका यी चारवटै सडकहरु एक वर्षभन्दा लामो समयदेखि अलपत्र अवस्थामा छन् ।

स्रोत सुनिश्चितता नभई उपलब्ध भएभन्दा बढी बजेटको ठेक्का लगाइँदा आर्थिक विश्रृङ्खतामा फसेको प्रदेश सरकारले मुख्य प्राथमिकताकै सडकहरुको निर्माणलाई अगाडि बढाउन नसकेको हो । अत्यावाश्यक मानिएका सडकहरुलाई प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण सडक आयोजनामा राखी निर्माण थालेको थियो । तर आर्थिक मामिला तथा योजना मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले मनपरी ठेक्का लगाउँदा आ.व. ०७६/०७७ मा सम्पन्न योजनाको रकम समेत गत आ.व.मा मात्रै निकासा गरिएको थियो ।

यसको उदाहरणको रुपमा मध्यपहाडी लोकमार्ग–तिम्बु पोखरी सडकको आ.व. ०७६/०७७ मा सम्पन्न ट्र्याक खोल्ने कार्यको निकासा स्वरुप गत आ.व.मा रु. २९ लाख १२ हजार रकम निकासा दिइएको पूर्वाधार विकास कार्यालयको वार्षिक प्रतिवेदनमा जनाइएको छ । कोभिड–१९ को महामारीका कारण पूर्वाधार विकासका क्षेत्रको बजेट महामारी नियन्त्रणमा लगाइँदा पूर्वाधार निर्माणका कार्य प्रभावित बनेका हुन् ।

यद्यपि आगामी आ.व.मा भने यी आयोजनाहरु अगाडि बढाउन गरी प्रदेश सरकारले बजेट सिलिङ तयार पारेको छ । “ट्र्याक खोल्ने मात्रै काम भएकाले एक वर्षपछि निर्माणलाई निरन्तरता दिँदा पनि कुनै समस्या भने हुँदैन”, पूर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर टीकाराम लिम्बूले भन्नुभयो, “गत वर्ष रोकिएको स्थानबाट ट्र्याक खोल्ने काम सुरु हुन्छ ।”

आयोजनाअन्तर्गतका सडक योजनाहरुको कूल लागत तथा लम्बाई समेत यकिन नगरी ट्र्याक खोल्न थालिएको थियो । निर्माण हुने सडकको विस्तृत परियोजना प्रतिवेदन समेत तयार नपारी निर्माण थालिएका रणनीतिक दृष्टिकोणले महत्वपूर्ण यी सडकहरु निर्माणको दोश्रो वर्षमै बजेट अभावले थलिँदा पूर्णतामा भने प्रश्न चिन्ह उठेको छ ।

पाँचथरका तीन वटा कोरिडोर सडकहरुको ट्र्याक खोल्ने कार्यमा समान रु. ८७ लाखका दरले बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट हेवा खोला कोरिडोरको २.७६ किमी, निवु खोला कोरिडोरको २.६ किमी र नावा खोला कोरिडोरको ३.९ किमी ट्र्याक निर्माण सम्पन्न भएको थियो । यस्तै हेवा कोरिडोरको २१ किमी र नावा तथा निवु कोरिडोरको समान २३ किमीको डीपीआर तयार पारिएको थियो । आठ मिटर चौडाइको सडक निर्माण हुने यी कोरिडोरहरु मध्ये नावा कोरिडोर २३ किलोमिटरको हुने तय भए पनि बाँकी दुई कोरिडोरको लम्बाई यकिन भएको छैन् ।

कोभिड–१९ महामारीका कारण जारी निषेधाज्ञाले निर्माण कार्य प्रभावित भएका, बजेट नभएको र अन्तिम समयमा उपलब्ध बजेट कार्यान्वयनमा लैजान नसकिएको, अख्तियारी बमोजिम बजेट प्राप्त नभएको, दरबन्दीअनुसार प्राविधिक नरहेका तथा सवारीका साधनको अभाव रहेको जस्ता विषयलाई पूर्वाधार विकास कार्यालयले अपेक्षित उपलब्धि हासिल गर्न परेका कठिनाइहरुमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्