सम्झौता सकिएको असारमै, तर सडक बनेको छ आहाल, सास्ती भोग्दै स्थानीयवासी



फिदिम, ६ भदौ

दुई वर्षअघिको साउन ३० गते जिल्लाका तीन वटा मुख्य ग्रामीण सडकहरुको कालोपत्रेको शिलान्यास हुँदा जिल्लावासीमा सडकका कारण भोग्नु परेको सास्ती चाँडै अन्त्य होला भन्ने लागेको थियो । संघीय संरचनाअनुसार पहिलो पटक प्रदेश सरकारले धमाधम आयोजनाहरु अगाडि बढाइरहेका कारण पूर्वाधारका अन्य आयोजना निर्माण समेत सुरुआत हुने धेरैको अपेक्षा थियो । तामझामका साथ गरिएका शिलान्यास कार्यक्रममा भनियो – बजेटको सुनिश्चितता भएकाले निर्माण ब्यवसायीले छिटो काम सम्पन्न गरेर पुरस्कार लिउन । यसका लागि समुदायस्तरबाट पनि दबाव दिन सुझाव दिइयो ।

तर शिलान्यास भएका आयोजनाहरु पूरा गर्ने अवधि समाप्त भइसक्दा निर्माण कार्य पूरा हुने कुनै छाँटकाँट छैन । बरु सडकमा विगतमा जस्तो दुःख थियो, त्यो अहिलेसम्म हटेको छैन् । समयमा गन्तब्यमा पुग्न नसक्दा यात्रुहरुले हैरानी ब्यहोरिरहेका छन् भने विरामीहरु समयमा अस्पताल पुग्न सकिरहेका छैनन् । कृषि उपजहरुले बजार पाउन सकेका छैनन् भने खाद्यान्नको ढुवानी गर्न समस्या परिरहेको छ ।

वि.सं. २०७६ साउन ३० गते २३ तामझामसहित कालोपत्रेको शिलान्यास गरिएको जिल्लाको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे–यासोक सडकमा ना २ ख ९२३६ नम्बरको ट्रक फसेको दुई साता वित्यो । विस्तार गरिएको सडकको हिलो माटो र पानीको आहालमा फसेको ट्रक निकाल्न चालकले दुई दिनसम्म प्रयास गरेपनि सम्भव नभएपछि छाडेको स्थानीयवासी वताउँछन् ।

निर्माण सम्झौताअनुसार यो सडक गत असार ३० गते नै निर्माण सम्पन्न भई सक्नुपथ्र्यो । पूर्वाधार विकास कार्यालय पाँचथरले लामा/च्याङमिला जेभी काठमाण्डौंलाई निर्माणको ठेक्का लगाएको छ । यो सडक निर्माण कार्यको भौतिक प्रगति जम्मा ४५ प्रतिशतमा सिमित छ ।

स्थानीयवासी राजु खतिवडाका अनुसार निर्माण ब्यवसायीले नियमित काम नगर्दा आयोजना निर्माण कार्यले गति लिन नसकेको हो । “१०÷१५ दिन काम गर्छन् । कहिले कोभिड आयो भन्छन्, कहिले बर्खा”, खतिवडाले भन्नुभयो, “समय घर्किँदा पनि काम नहुँदा हामीलाई दुःख त लागेको छ नै, त्यो भन्दा बढी सास्ती खेप्नु परेको छ ।” विकासमा धेरै आयोजनाहरु एकैसाथ सुरुआत हुँदा उत्साहित बनेका स्थानीयवासीलाई समयमा निर्माणका कार्य पूरा नहुने र पहिलेजस्तै दुःख भोग्नुपर्ने बाध्यताले सधैँ सताइरहेको छ ।

११.३१० किलोमिटरको सरखण्डे–यासोक सडकले जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकालाई सदरमुकाम फिदिमसँग जोड्दछ । मुख्य सडक समयमा निर्माण सम्पन्न नहुँदा यासोक–फिदिम चल्ने सवारीका साधन कुम्मायक–४ तिङदेन तथा कुम्मायक–१ फिक्कलबाट जोडिएका शाखा सडक हुँदै गुड्ने गरेका छन् ।

तर शाखा सडकहरु समेत निरन्तरको वर्षा र प¥याप्त मर्मतको अभावमा कठिन र जोखिमपूर्ण बनेका छन् । सवारी चालक लक्ष्मण घिमिरेका अनुसार ढुवानीका साधन हिलोमा फसेपछि सडक नसुकुञ्जेल पर्खिनुको विकल्प हुँदैन । “गाडी फसेपछि १५ दिनसम्म कुरेर बस्नुपर्ने बाध्यता छ”, घिमिरेले भन्नुभयो, “सडक निर्माणको काम समयमा नभएपछि दुःख पाउने त हामीले हो ।” ग्रामीण सडकहरु बर्खामा हिलोले अवरुद्ध हुने मात्रै होइन्, हिउँद वा पानी नपरेको समयमा धुलोले हिँडिनसक्नु हुन्छन् ।

पूर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर टीकाराम लिम्बूका अनुसार विशेषत कोभिड–१९ सङ्क्रमणको महामारीका कारण निर्माण कार्य अवरुद्ध हुँदा आयोजनाहरु समयमा पूरा हुन नसेका हुन् । “हाम्रो कार्यालयबाट अगाडि बढाई म्याद सकिएका मुख्य तीन आयोजनाको म्याद छ महिना थप भएको छ”, लिम्बूले भन्नुभयो, “बर्खा भएपनि काम अगाडि बढाउन भनिरहेका छौँ ।” स्रोत सुनिश्चित भएको भनि वहुवर्षीय ठेक्का लागेका भएपनि आयोजनामा समयमा रकम निकासा नहुँदा ठेकेदारहरुले विभिन्न बाहना बनाउन पाएका छन् ।

यता सबै सरकारी निकायले कोभिड–१९ को महामारीविरुद्धका कार्यमा ध्यान केन्द्रीत गर्दा ठेकेदारहरुलाई हाइसञ्चो भएको छ । विगतमा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको अगुवाइमा धेरै आयोजनाहरुमा निर्माण कार्यको अवस्थादेखि गुणस्तर समेतका विषयमा अनुगमन, निरीक्षण तथा निर्देशन हुने गरेको थियो ।

तर कोभिड–१९ को महामारीपछि सबै निकाय त्यसतर्फ केन्द्रीत हुँदा निर्माणका कार्यहरु करीब ठप्प भएका छन् । सडक निर्माणले अपेक्षित गति नलिँदा सबैले सास्ती ब्यहोर्नुपरेको र आफूहरुले निरन्तर दबाव सिर्जना गरिरहेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको भनाई छ ।

सरखण्डे–यासोकसँगै शिलान्यास भएका सिवादोभान–लुम्फाबुङ सडकको भौतिक प्रगति ६५ प्रतिशत तथा फिदिम–फालोट सडकको फिदिम–सल्लेरी खण्डको भौतिक प्रगति ७० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । फिदिम–फालोट सडकको सल्लेरी–विहीदिन खण्ड कालोपत्रे भई सहजै सवारीका साधन सञ्चालन भइरहेका छन् ।

तर दुइतर्फ कालोपत्रे भएपनि फिदिम–सल्लेरी खण्ड थपिएको म्यादभित्र समेत निर्माण पूरा हुन कठिन छ । यहाँ पहिरो झर्ने समस्याले पटक–पटक सडक अवरुद्ध भइरहेको छ । सवारी तथा मानवीय चाप निकै न्यून हुने सिवादोभान–लुम्फाबुङ सडक निर्माणले समेत अपेक्षित गति नलिएको स्थानीयवासीको भनाई छ ।

११.३१० किलोमिटरको सरखण्डे–यासोक सडक रु. ५३ करोड ३३ लाख छ हजार ४८१ लागतमा लामा/च्याङमिला जेभी काठमाण्डौंले निर्माण गरिरहेको छ । १३.९२१ किलोमिटरको सिवादोभान–लुम्फाबुङ सडक कान्छाराम÷याक्थुङहाङ जेभीले रु. ७६ करोड २२ लाख ४५ हजार ५८३ लागत निर्माणको जिम्मा लिएको छ ।

यस्तै १०.११२ किलोमिटरको फिदिम–फालोट सडकको फिदिम–नांगीन खण्ड निर्माणको जिम्मा कन्काई पीएस जेभीले रु. ५२ करोड ६७ लाख ३० हजार ८१३ लागतमा लिएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । तर तीन वटै आयोजना निर्माण कार्य लम्बिँदा यी सडक हुँदै यात्रा गर्नुपर्ने सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

हेर्नुहोस् २०७६ साउन ३० गते सरखण्डे–यासोक सडकको तामझाम सहितको शिलान्यासका तस्वीरहरु

उक्त आयोजनाबारे सूचना पाटीबाट विस्तृत बुझ्नुहोस्

प्रतिक्रिया दिनुहोस्