
फिदिम । उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो ।
सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिए ।
आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताए । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ। दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताए । उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए ।
महन्थ ठाकुर पक्षका अर्का एक नेताले आफूहरुको पार्टी उपेन्द्र यादवको भन्दा ठूलो रहेको दावी गर्दै आगामी दिनमा थप सशक्त बनाउने बताए । निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महन्थ ठाकुर पक्षीय नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले आफ्नो पार्टी उपेन्द्र यादवको जसपा भन्दा शक्तिशाली भएको दावी गरेका हुन् । आगामी दिनमा पार्टी थप सशक्त बनाइने पनि उनले बताए ।
तत्कालीन राजपा र समाजवादी पार्टी एकता हतारमा गर्दा खल्तीका मान्छे धेरै समेटिएको भएपनि अहिले आफूहरुको पार्टीमा क्षमतावान नेताहरु रहेकाले जनताको विश्वास रहेको उनको भनाइ छ । “एउटा कुरा एक ध्यान दिनुपर्छ भने पार्टी बन्ने बेलामा रातारात घोषणा गरियो । धेरै गोजीका मान्छे समेटियो । कार्यकारिणीमा हेर्नुहुन्छ, वार्ड जित्ने क्षमता भएका कति जना हुनुहुन्छ ?” उनले भने ।
नेताहरुका अनुसार पार्टीले तत्काल सरकारमा नजाने नीति बनाएको छ । आफूहरुको माग पुरा गरेको खण्डमा सरकारमा जान सकिने सो पार्टीको भनाइ छ । मधेस आन्दोलनका बन्दीको रिहाइ, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायतका मागमा सरकार प्रतिबद्ध भए यसबारे सोच्न सकिने ठाकुर पक्षको भनाइ छ ।