पाँचथरमा युवा संघ र अनेरास्ववियुले जलाए दलसम्बन्धी अध्यादेश



फिदिम, २ भदौ

पाँचथरमा राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आज जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश जनाएका छन् ।

संसद् छलेर नेकपा (एमाले) विभाजन गर्ने उद्देश्यसहित अध्यादेश ल्याइएको भन्दै यी दुई संगठनले आज साँझ फिदिमको गणतन्त्र चोकमा कोणसभा गरी अध्यादेश जलाएका हुन । एमाले पार्टी कार्यालय वुद्धमार्गबाट सुरु भएको विरोध ¥याली गणतन्त्र चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई राष्ट्रिय युवा संघ पाँचथरका अध्यक्ष कमल थपलिया, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र तुम्बापो तथा अनेरास्ववियुका अध्यक्ष नारायण सुवेदीले सम्बोधन गरेका थिए ।

वक्ताहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न पाउने प्रावधान सहितको अध्यादेश ल्याउँदा विरोध गरेको काँग्रेसको नेतृत्वमा अहिले २० प्रतिशतले नयाँ दल खोल्न मिल्ने अध्यादेश ल्याउनु लज्जास्पद भएको वताए ।

वर्तमान सरकारले सरकार टिकाउन आफैँले गलत भनेको कार्य गर्नु तथा जग्गा पाउन लागेका भूमिहीनलाई जग्गा दिने प्रकृयालाई समाप्त पार्नुले ओली नेतृत्वको सरकारको विरोध सत्तामा पुग्ने दाउ मात्रै भएको पुष्टि भएको वक्ताहरुको भनाई थियो ।

एमालेसम्वद्ध युवा तथा विद्यार्थीहरुले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने समेत वताएका छन् । हिँजो यी दुई संगठनले फिदिममा मसाल जुलुस निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्