पाँचथरमा छन् छ सय बढी सक्रिय सङ्क्रमित



फिदिम, १ भदौ

निषेधाज्ञा खुकुलो पारिएको पाँचथरमा कोभिड–१९ का सक्रिय सङ्क्रमितको संख्या छ सय जनाभन्दा बढी छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आइतवारसम्म पाँचथरमा कूल तीन हजार ७२२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये तीन हजार ४३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये जिल्ला भित्रै १८ जनाको मृत्यु भएको छ भने २९ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । यस तथ्याङ्कका आधारमा अहिले जिल्लामा ६३२ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । जसमध्ये १९ जना फिदिम स्थित कोभिड अस्पतालको एचडीयूमा उपचाररत छन् ।

सङ्क्रमितको संख्या उल्लेख्य रहेको भएपनि उद्यमी, ब्यवसायीहरुको मागका आधारमा जिल्लामा निषेधाज्ञालाई आजबाट थप खुकुलो पारिएको छ । पाँचथरमा यातायातका साधनमा लगाइएको जोरबिजोरको प्रणाली हटाइएको छ । यस्तै पसल–ब्यवसाय विहान ५ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि निषेधाज्ञाका ब्यवस्थाहरु केही प्रतिबन्धात्मक भएपनि त्यसको पालना हुन सकेको थिएन ।

अहिले सङ्क्रमणको अत्यधिक खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्वीमीङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय खोल्न भने रोक लगाइएको छ । पाँचथरमा तेह्रै पटक निषेधाज्ञा थप गर्दा धेरै प्रतिबन्धात्मक ब्यवस्थाहरुलाई हटाइएको छ ।

जिल्लामा सदरमुकाम फिदिम सहित दूरदराजका गाउँहरुमा कोभिड–१९ का सङ्क्रमित फेला पर्ने क्रम रोकिएको छैन् । पछिल्लो साता जिल्लाको फिदिम नगरपालिका–१३ लुङरुपामा कोभिड–१९ का धेरै सङ्क्रमित फेला परेका छन् । फिदिम सहित अन्य बजारी क्षेत्रमा समेत सङ्क्रमितको संख्या उल्लेख्य रुपमा घट्न सकेको छैन् । सोमवारमात्रै ५५ जनाको एण्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

निषेधाज्ञा खुकुलो पारिएपछि परीक्षण बढाउन थालिएको छ । आज मात्रै जिल्ला अस्पतालमा पीसीआर परीक्षणका लागि कन्ट्र्याक ट्रेसिङमा परेकाहरु तथा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई अस्पताल तथा सरोकारवालाहरुले आह्वान गरेका छन् । निषेधाज्ञा खुकुलो भएपछि विशेषत बजारी क्षेत्रमा सङ्क्रमण फैलने खतरा अत्यधिक हुने गरेको छ ।

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण ह्वात्तै बढ्नसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा जोड दिन उद्यमी, ब्यवसायी तथा उपभोक्ताहरुमा आग्रह गर्नुभएको छ । उहाँले विक्रेता र ग्राहक सबैलाई सहज वातावरण बनेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनालाई अनिवार्य गरी सङ्क्रमण रोकथाम र विद्यमान अवस्थाको निरन्तरताका लागि सहयोग गर्न अपील गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्