अध्यादेश विरुद्ध पाँचथरमा युवा संघ र अनेरास्ववियुको मसाल जुलुस



फिदिम, १ भदौ

सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी अध्यादेश ल्याएको विरोधमा पाँचथरमा नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियूले मसाल जुलुस निकालेका छन् ।

आज साँझ फिदिमको लोकतन्त्र चोकबाट निकालिएको मसाल जुलुस गणतन्त्र चोकमा पुगी कोणसभामा परिणत भएको थियो । एमालेको विभाजन गर्ने उद्देश्यसहित अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको भन्दै यी दुई संगठनले विरोध जनाएका हुन् ।

कोणसभालाई राष्ट्रिय युवा संघ पाँचथरका अध्यक्ष कमल थपलिया र अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र तुम्वापोले सम्बोधन गरेका थिए । विगतमा अध्यादेश जारी हुँदा विरोध गर्ने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलहरुले नै संसद् छलेर अध्यादेश ल्याई एमालेलाई कमजोर पार्न खोजेको भन्दै यी संगठनहरुले विरोध जनाएका हुन् । उनीहरुले २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न पाउने प्रावधान आपत्तिजनक रहेको बताए ।

उनीहरुले अध्यादेशविरुद्ध निरन्तर संघर्षका कार्यक्रम अगाडि बढाउने समेत बताएका छन् । सरकारले एमाले विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न सक्ने कानूनी ब्यवस्था गर्न अध्यादेश तयार पारेको छ ।

उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष आज सिफारिस भएको थियो । एमालेले अध्यादेश जारी गर्ने कार्यको प्रतिरोध गर्ने वताएको छ ।

प्रतिक्रिया दिनुहोस्