
फिदिम, ३२ साउन ।
भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध अखिल नेपाल किसान महासंघ पाँचथरले १००० जनाको हस्ताक्षर बुझाएको छ ।
महासंघले प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालमार्फत आज प्रधानमन्त्री शेरबहादुर देउवालाई १००० जनाको हस्ताक्षर बुझाएको हो । आयोगले आफ्ना कार्यहरु अगाडि बढाई भूमिहीनलाई जग्गा दिने प्रकृया थालिसकेको अवस्थामा आयोग विघटन हुँदा भविश्यमा समेत भूमिहीनले जग्गा प्राप्त गर्न कठिन पर्नसक्ने भन्दै महासंघले आयोगको पुनस्र्थापना गर्न माग गरेको हो । स्थानीय तहमार्फत भूमिहीन तथा अब्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्य हुने हुनाले आयोग विघटन गर्नुपर्ने कुनै आवश्यकता नरहेको महासंघको भनाई छ ।
नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारी सहित महासंघका पदाधिकारी तथा सरकोरवालाहरुले आज उक्त हस्ताक्षर रहेको कपडा प्रजिअ ढकाललाई बुझाएका हुन् । जिल्लाका विभिन्न स्थानमा कृषक, भूमिहीन तथा अब्यवस्थित बसोबासी समेतका हस्ताक्षर सङ्कलन गरिएको महासंघ पाँचथरका अध्यक्ष महेन्द्रप्रसाद लुइटेलले जानकारी दिनुभयो ।
हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले महासंघको मागबमोजिम हस्ताक्षर पठाइने वताउनुभयो । मन्त्रिपरिषदको साउन १९ गतेको बैठकले उक्त आयोग विघटन गर्ने निर्णय गरेको थियो ।
